काठमाडौं । विश्वका देशहरुको ऋण बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वको ऋण १०२ ट्रिलियन डलर पुगेको छ । विश्वका धेरै ठूला देशले ऋण लिएर अर्थतन्त्र चलाइरहेका छन् । आईएमएफ र अमेरिकी ट्रेजरीको तथ्यांकअनुसार अमेरिकामा विश्वमा सबैभन्दा बढी ऋण छ ।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको यो देशको संघीय सरकारको ऋण ३६ ट्रिलियन डलर पुगेको छ, जुन कुल गार्हस्थ उत्पादनको करिब १२५ प्रतिशत हो । विश्वको कुल ऋणको ३४.६ प्रतिशत अमेरिका एक्लैको छ । समस्या यो छ कि अमेरिकाको ऋण यस्तो समयमा बढिरहेको छ जब यसको अर्थव्यवस्था राम्रो प्रदर्शन गरिरहेको छ । यो ऋणको ब्याज तिर्न अमेरिकाले धेरै पैसा तिर्नुपरेको छ ।
यो सूचीमा चीन दोस्रो नम्बरमा छ । विश्वको ऋणको १६.१ प्रतिशत चीनको छ । गत वर्ष चीनको ऋण १४.६९ ट्रिलियन डलर थियो । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो तर केही समययता यसले धेरै मोर्चामा संघर्ष गरिरहेको छ । तेस्रो नम्बरमा जापान रहेको छ । जापानमा विश्वको कुल ऋणको १० प्रतिशत छ । गत वर्ष देशको ऋण १०.७९ ट्रिलियन डलर थियो । यस्तै गत वर्ष बेलायतको ऋण ३.४६ ट्रिलियन डलर थियो, जुन विश्वव्यापी ऋणको ३.६ प्रतिशत हो । यो सूचीमा फ्रान्स पाँचौं र इटाली छैटौं स्थानमा छन् । फ्रान्समा ३.३५ ट्रिलियन डलर र इटालीको ३.१४ ट्रिलियन डलर ऋण छ ।
यो सूचीमा भारत सातौं नम्बरमा छ । विश्वको पाँचौं ठूलो अर्थतन्त्र भारतको गत वर्ष कुल ऋण ३.०५७ ट्रिलियन डलर थियो, जुन विश्वव्यापी ऋणको ३.२ प्रतिशत हो । यो जर्मनी, क्यानडा, ब्राजिल र रुस जस्ता देशहरूको भन्दा बढी हो । इराक, चिली, चेक गणतन्त्र, भियतनाम, हंगेरी, यूएई, युक्रेन, ताइवान, रोमानिया, नर्वे, स्वीडेन, कोलम्बिया, आयरल्याण्ड र फिनल्याण्डको विश्वमा सबैभन्दा कम ऋण छ । पाकिस्तानसँग विश्व ऋणको ०.३ प्रतिशत छ भने बंगलादेशसँग ०.२ प्रतिशत छ ।
नेपालको ऋण कति छ ?
चालु आर्थिक बर्षको मंसिर मसान्तसम्म नेपालको तिर्न बाँकी कुल सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ उत्पादनको ४३.६९ प्रतिशत हो ।
सरकारले हालसम्म लिएको कुल ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब १७ अर्ब ६६ करोड र बाह्य ऋण १२ खर्ब ७४ अर्ब ७४ करोड रुपैयाँ छ । यो नेपालको कुल गार्हस्थ उत्पादनको आधारमा क्रमशः २१.३४ प्रतिशत र २२.३५ प्रतिशत हो ।