काठमाडौं । पछिल्लो ४ बर्षदेखि नेपालको निर्यात व्यापारमा सबैभन्दा बढी हिस्सा ओगटिरहेको खानेतेलको निर्यातले पुनः उचाई लिएको छ । अघिल्लो बर्षसम्म लगातार उकालो लागिरहेको खानेतेलको निर्यात त्यसपछि सुस्ताएको थियो । आव २०७६/७७ देखि लगातार उकालो लागेको खानेतेलको निर्यातले अघिल्लो आर्थिक बर्ष २०७९/८०को अन्त्यसम्ममा निरन्तरता पाएको थियो ।
यस अवधिमा एकै वर्षमा नेपालले करिव ६८ अर्ब रुपैयाँ बराबरको खानेतले भारतमा मात्रै निर्यात गरेको थियो । जुन नेपालको कुल निर्यातको झण्डै ६० प्रतिशतसम्म थियो । अर्थात सबैभन्दा बढी खानेतेल निर्यात भएको वर्ष खानेतेलले मात्रै कुल निर्यातको ६० प्रतिशत हिस्सा ओगटेको थियो । नेपालबाट लगातार बढिरहेको आयातमा ब्रेक लगाउँदै भारत सरकारले विदेशबाट आयात हुने कच्चा तेलको र तेलजन्य पदार्थको भन्सारमूल्य एकाएक घटायो । यसले भारतको आन्तरिक बजारमा तेलको मूल्य सस्तियो र नेपालबाट निर्यात हुने प्रशोधित खानेतेलको निर्यात एकाएक रोकिएको थियो ।
त्यसपश्चात नेपालबाट उच्च निर्यात भइरहेको खानेतेलको निर्यात धेरै निर्यात हुने वस्तुको बाह्रौँ स्थानसम्म झरेको थियो । तर, पुनः नेपालका तेल प्रशोधन उद्योगहरुले यसको निर्यात बढाएका छन् । जसका कारण चालु आर्थिक बर्षको पहिलो ५ महिना (साउनदेखि मंसिरसम्म)सम्म नेपालबाट झण्डै सवा १२ अर्बको खानेतेल निर्यात भएको देखिन्छ । गत बर्षदेखि खानेतेलको निर्यात ओरालो लागेपछि नेपालको रैथाने वस्तुहरु जस्तै गलैंचा, चियाँ, अलैँची, तयारी पोशाकलगायतका सामग्रीहरु धेरै निर्यात हुने वस्तुको सूचीको अग्रस्थानमा रहँदै आएका थिए । तर चालु आवमा पुनः खानेतेलले सूचीको अग्रिम स्थान ओगट्न सफल भएको हो ।
भन्सार विभागको तथ्यांकलाई आधार मान्दा चालु आवको पहिलो ५ महिनामा खानेतेलको आयात भने ३१ अर्ब ८३ करोड रुपैयाँ बराबरको गरेको छ । यसरी हेर्दा नेपालले उच्च आयात गरेको वस्तु नै धेरै निर्यात गरेको देखिन्छ । अर्थात विदेशबाट खानेतेलको कच्चापदार्थ र प्रशोधित तेल नै आयात गरेर नेपालले पुनः निर्यात गरिरहेको यो तथ्यांकले देखाएको छ । यसो हुँदा नेपालले ५ महिनामा तेल आयात –निर्यात व्यापारबाट मात्रै १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको देखिन्छ ।
खासगरी नेपालको निर्यात व्यापार कुनै निश्चित वस्तुमा बढ्दै गएको देखिएपछि भारत सरकारले नै नेपालको उक्त निर्यातलाई प्रभावित पार्न तत्काल नीति परिवर्तन गर्ने गरेको छ । गत बर्षमात्रै नेपालबाट भारततर्फ निर्यात बढिरहेको प्लाइउडको व्यापारलाई पनि प्रभावित तुल्याउन भारतले कर र गुणस्तरमा प्रश्न उठाएको थियो । सोहीअनुसार पुनः तेलको निर्यात बढेको देखिएसँगै यसको निर्यात पनि प्रभावित पार्न आफुअनुकुल नीति ल्याउनेमा दुईमत छैन ।
अझ एकै वस्तु ठुलो मात्रामा कुनै निश्चित देशमा मात्रै निर्यात भईरहेको अवस्थामा उक्त देशले उक्त वस्तुको लागि सानो नीति परिवर्तन गरिदिनेवित्तिकै नेपालको निर्यात व्यापार नै मर्कामा पर्ने निश्चित हुन्छ । तसर्थ यस्ता वस्तुको निर्यातमा विविधिकरण गरी तेस्रो मुलुकसम्म पनि पठाउनुपर्ने र एकै वस्तु भन्दा फरकफरक वस्तुहरु एकै देशमा गएको खण्डमा व्यापार सहजीकरण हुने व्यापारविज्ञहरु बताउँछन् ।
खासगरी यसपल्ट भारतले पुनः अघिल्लो बर्षहरुझैँ तेलहन कच्चा पदार्थको ड्युटी बढाएपछि नेपालको प्रशोधित तेलले बजार पाएको नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष कुमुद कुमार दुगडले बताए । खासगरी दुई महिनाअघि नै भारतले कच्चा पदार्थको ड्युटी बढाएपछि नेपालबाट यसको निर्यात बढेको उनको भनाई छ । ‘अघिल्ला बर्षहरु भारतले ड्युटी शुन्यमा झारेकै कारण नेपालको तेलको मूल्य उच्च हुँदा भारतमा नेपालको तेलले बजार पाएको थिएन,’ उनले भने, ‘अब पुनः भारतले ड्युटी बढाएपछि हामीलाई सजिलो भएको हो ।’
भारतले आन्तरिक कच्चा पदार्थले बजार नपाउँदा कहिलेकसो ड्युटी न्यून गरिदिने गरेको छ । त्यसो हुँदा आन्तरिक उत्पादन सस्तो हुँदा वस्तु आयात कम गरिन्छ र नेपालको निर्यात प्रभावमा पर्छ । यसपल्ट बढाएको ड्युटी पनि पुनः घटाएको खण्डमा नेपालले पुनः बढाएको तेलको निर्यात घट्ने निश्चित छ । विभागको तथ्यांकलाई आधार मान्दा नेपालले निर्यात गरेको खानेतेलमध्ये भटमासको तेलमात्रै पछिल्लो ५ महिनामा ८ अर्ब ३६ करोड बराबरको ४ करोड १८ लाख किलो बढी निर्यात भएको देखिन्छ । यस्तै यसै अवधिमा २ अर्ब ९७ करोड रुपैयाँ बराबरको सुर्यमुखीको दाना, १ अर्ब ४२ करोडको पिना र २१ करोड ३९ लाख रुपैयाँ बराबरको पाम आयल निर्यात गरेको देखिन्छ ।
खासगरी नेपालमा निर्यात गर्न मिल्नेजति तेल र तेलजन्य कच्चा पदार्थहरु उत्पादन गरिँदैन । यसो हुँदा उद्योगीहरुले तेलका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट आयात गरी त्यसमा केहि भ्यालु एड वा सामान्यतया प्रशोधन गरी पुनः विदेश नै निर्यात गर्ने प्रचलनले पुनः निरन्तरता पाएको छ । विभागको तथ्यांकलाई आधार मान्दा पनि चालु आवको ५ महिनामा नेपालमा अर्जेन्टिना, बेनिन, ब्राजिल, पाराग्वे, थाइल्याण्ड, टोगो र युक्रेनबाट भटमासको तेल आयात भएको देखिन्छ । यस्तै चीन, जर्मनी, भारत, मलेसिया र अमेरिकाबाट भने कच्चा भटमासको तेल र साइप्रस, भारत, इटाली, युक्रेन र टर्कीबाट ओलिभ आयल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
यस्तै यसै अवधिमा नेपालले कच्चा ओलीभ आयल अमेरिकालगायत, भारत, स्पेन र इटालीबाट आयात गर्दा इन्डोनेसीया, मलेसीया, थाइल्याण्ड र भारतबाट पाम तेल र यसको कच्चा पदार्थ आयात गरेको देखिन्छ । यससँगै नेपालले रोमानीय, इटाली, युक्रेनलगायतका देशबाट सुर्यमुखी तेलसँगै अन्य तेलहन र यसको कच्चा पदार्थ आयात गरेको देखिन्छ । विभागको तथ्यांकलाई आधार मान्दा नेपालले यी देशहरुबाट तेलहन आयात गरी भारतमा मात्रै सबैभन्दा बढी तेल निर्यात गरेको देखिन्छ । यससँगै नेपालले पछिल्लो ५ महिनामा अष्ट्रेलिया र अमेरिकामा न्यून मात्रामा खानेतेल निर्यात गरेको विभागले जानकारी दिएको छ ।
अन्य वस्तुको निर्यात कस्तो ?
चालु आवको हालसम्म नेपालबाट निर्यात हुने वस्तुको पहिलो स्थानमा खानेतेल भएपनि अन्य नेपाली रैथाने वस्तुहरुको निर्यात पनि सोहीअनुसार झिनो रुपमा अघि बढिरहेको देखिन्छ । विभागको तथ्यांकलाई आधार मान्दा चालु आवको ५ महिनामा नेपालबाट ६ अर्ब ७७ करोडको चिया, कफी, ५ अर्ब ६९ करोडको हातले बनाएको स्टेपल फाइबर, ५ अर्ब ४८ करोडको गलैँचा, ५ अर्ब ८ करोडको फलाम तथा स्टील र ३ अर्ब ८४ करोड रुपैयाँ बराबरको काठ र काठजन्य वस्तुहरु निर्यात भएका छन् । विभागको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको यही अवधिको तुलनामा चालु आवमा नेपालको कुल निर्यात व्यापार १६.५४ प्रतिशतले बढेको छ ।