Logo

पांगा सम्पदा पदयात्रामा उत्साहजनक सहभागिता, जीवन्त लोककथासहितको अविस्मरणीय अनुभव प्रदान

पांगा सम्पदा पदयात्रामा उत्साहजनक सहभागिता, जीवन्त लोककथासहितको अविस्मरणीय अनुभव प्रदान



काठमाठडौं । कीर्तिपुर स्वयंसेवक समाज (केभियस) ले स्थानीय संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नियमित कार्यक्रमहरूको शृङ्खलाको एक अंशका रूपमा कीर्तिपुर पांगामा सम्पदा पदयात्रा मिति २०८१ पुस ६ मा आयोजना गर्‍यो। लेक्चरर तथा लेखिका सुश्री दीपा महर्जनको सहजीकरणमा भएको यस पदयात्राले सहभागीहरूलाई पांगाको समृद्ध मूर्त र अमूर्त सम्पदाको बारेमा जीवन्त लोककथा सहितको अविस्मरणीय अनुभव प्रदान गर्‍यो ।

पदयात्रा भाजगंलको आध्यात्मिक र सांस्कृतिक महत्त्वको स्थल विष्णुदेवी मन्दिरबाट सुरु भएको थियो। सहभागीहरूले पांगा ढुशी, देउखेल, लाच्छी हुँदै ढोकाशीमा पुगेर तोकिएको मार्ग पूरा गरे। बाटोभरि सहजकर्ता महर्जनले पांगाको सम्पदा, विशेषगरी यहाँको इन्द्रायणी जात्रा मनाउने विशिष्ट परम्परा बारे गहन अन्तर्दृष्टिहरू प्रस्तुत गरे । अन्य स्थानहरूभन्दा फरक, पांगाको इन्द्रायणी जात्राले गहिरो रूपमा स्थानीय परम्परा, भक्ति, संगीत र सामुदायिक सहभागिताको जीवन्त मिश्रणलाई उजागर गर्दछ।

पांगा एउटा सांस्कृतिक सम्पदाको खजाना हो। यहाँका जटिल काष्कला, प्राचीन मन्दिरहरू र ऐतिहासिक मार्गहरूलाई स्थानीय चाडपर्व र समुदायको भावना थपेर अझ विशेष बनाइएको छ। यी सबैले पांगाको सांस्कृतिक पहिचानलाई शताब्दीयौं पुरानो इतिहाससँग जोडिएका छन् ।

कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदीले यस्ता पहलहरूको महत्त्वलाई जोड दिँदै भने, “पांगा केवल एउटा स्थान होइनस यो हाम्रो साझा इतिहास र संस्कृतिको भण्डार हो। यी सम्पदा पदयात्राहरूले विगत र वर्तमानबीचको खाडललाई हटाउँदै हाम्रो सम्पदाप्रतिको गहिरो सम्मान र सम्बन्ध बढाउने लक्ष्य राखेका छन्। यी सम्पदा पदयात्राहरू मासिक रूपमा नियमित आयोजना गरिनेछन्, यसले हाम्रो सम्पदासँग नजिकको सम्बन्ध स्थापना गराउनेछन्” । सम्पदा पदयात्रा सहभागीहरूको उत्साहजनक प्रतिक्रियाका साथ सम्पन्न भयो। यसको संयोजन रुपेन्द्र महर्जनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्