काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । हरेक बर्ष ४० प्रतिशतमाथि लाभांश दिईरहेको कम्पनीले यो वर्ष अर्थात पछिल्लो करीब डेढ दशक (करिव १४ बर्ष) यताकै न्यून लाभांश घोषणा गरेको हो । कम्पनीको यो प्रस्तावले विगतमा ४० प्रतिशतभन्दा माथि लाभांश वितरण गर्दै आएको कम्पनीले आम्दानीमा दबाब सामना गरिरहेको स्पष्ट संकेत गरेको छ ।
१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल टेलिकममा सरकारको ९२ प्रतिशत र कर्मचारीसहित सर्वसाधारणको ८ प्रतिशत स्वामित्व रहेको छ । चालु आर्थिक वर्षमा ३० प्रतिशत लाभांश प्रस्ताव गरेअनुसार टेलिकमले कुल ५ अर्ब ४० करोड रुपैयाँ नगद वितरण गर्नेछ । टेलिकमले विगतमा उच्च लाभांश वितरण गर्दै आएको थियो । आर्थिक वर्ष २०७४/७५ मा ५५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले त्यसपछि क्रमशः ४५, ४०, र ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यो वर्ष भने लाभांश घटेर ३० प्रतिशतमा सीमित हुन पुगेको छ । यसले कम्पनीको आम्दानी र नाफामा निरन्तर आएको कमीलाई दर्शाउँछ । आर्थिक वर्ष २०७४/७५ मा ४५.५७ अर्ब रुपैयाँ आम्दानी र १५.६७ अर्ब रुपैयाँ खुद नाफा रहेकोमा, २०८०/८१ मा टेलिकमको आम्दानी ३८.९ अर्ब रुपैयाँमा झरेको छ भने नाफा ६ अर्ब रुपैयाँमा सीमित भएको छ ।
पछिल्ला वर्षहरुमा टेलिकमको आम्दानी घट्दै जानुमा प्रविधिमा आएको परिवर्तन र प्रतिस्पर्धा रहेको टेलिकमले बताउँदै आएको छ । ओटीटी (ओभर–द–टप) सेवाहरू भाइबर, ह्वाट्सएप, इमो, र स्काइपजस्ता एपहरूको प्रयोगले परम्परागत भ्वाइस कल सेवाहरूको माग घटेको छ । केहि बर्षअघिसम्म टेलिकमको आम्दानीको ठूलो हिस्सा अन्तर्राष्ट्रिय कल सेवाबाट आउँथ्यो । तर, पछिल्ला वर्षहरुमा अन्तर्राष्ट्रिय कल आम्दानी पनि उल्लेखनीय रूपमा घटेको छ । आर्थिक वर्ष २०७३/७४ मा अन्तरराष्ट्रिय कल सेवाबाट ८ अर्ब रुपैयाँ आम्दानी भएकोमा २०८०/८१ सम्म आइपुग्दा यो घटेर करिब ३.९१ अर्ब रुपैयाँमा सीमित भएको छ । ओटीटी (ओभर–द–टप) सेवाहरू जस्तै भाइबर, ह्वाट्सएप, स्काइप, र इमो जस्ता प्लेटफर्महरूको बढ्दो प्रयोगले टेलिकमको परम्परागत भ्वाइस कल सेवामा प्रत्यक्ष असर पारेको टेलिकमका प्रवक्ता हरि ढकाल बताउँछन् ।
उनका अनुसार, पछिल्ला वर्षहरूमा टेलिकमको व्यापारमा आएको गिरावटको मुख्य कारण भनेकै प्रविधि परिवर्तन हो । अन्तर्राष्ट्रिय कल सेवाको घट्दो माग र ओटीटी सेवाहरूको बढ्दो प्रयोगले टेलिकमको आम्दानीलाई प्रत्यक्ष असर गरेको छ । प्रविधि परिवर्तनका साथै बजारमा देखिएको प्रतिस्पर्धाले पनि टेलिकमलाई चुनौती दिएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरूको संख्या र सेवा विस्तारले ग्राहकहरूको रोजाइमा विविधता ल्याएको छ । यी प्रदायकहरूले सस्तो दरमा इन्टरनेट उपलब्ध गराउन थालेपछि ग्राहकहरूले मोबाइल डाटाका लागि टेलिकमको सेवा छोड्ने गरेका छन् । यसका साथै, नाफामा कमी आउनुका पछाडि कम्पनीको खर्च व्यवस्थापनमा समस्या रहेको पनि प्रवक्ता ढकाल बताउँछन् । ‘हामीले खर्च कटौतीका लागि योजना अघि सारेका छौं,’ उनले भने, ‘हालैका दिनहरूमा कर्मचारी व्यवस्थापनदेखि प्राविधिक अपग्रेडसम्मका क्षेत्रमा सुधार गर्न प्रयासरत छौं ।’
नेपाल टेलिकमले हाल ५जी प्रविधि लागू गर्न र आफ्नो सेवालाई आधुनिक बनाउन केही नयाँ योजनाहरू अघि सारेको छ । नयाँ प्रविधिको साथमा सेवा स्तरमा सुधार ल्याउने काममा टेलिकम लागिपरिरहेको प्रवक्ता ढकालले बिजखबरलाई बताए । कम्पनीको आर्थिक अवस्थालाई हेर्दा, यसले तत्काल ठूलो आम्दानीको अपेक्षा गर्न गाह्रो छ । टेलिकमले आफ्नो परम्परागत सेवाभन्दा नयाँ प्रविधिहरू र डिजिटल प्लेटफर्ममा ध्यान केन्द्रित गर्न नसक्दा आम्दानी कमजोर बनिरहेको जानकारहरु बताउँछन् । डिजिटल ट्रान्सफरमेसन र नवप्रवर्तनले मात्र टेलिकमलाई यो चुनौतीपूर्ण अवस्थाबाट उन्मुक्ति दिन सक्ने उनीहरुको धारणा छ ।