Logo

रविसहित ३१ जनाविरुद्ध तीन अभियोगमा मुद्दा दर्ता, एक अर्ब ५१ करोड विगो दावी

रविसहित ३१ जनाविरुद्ध तीन अभियोगमा मुद्दा दर्ता, एक अर्ब ५१ करोड विगो दावी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीन अभियोगमा कास्की जिल्ला अदालतमा चार सय पृष्ठको आरोपपत्र पेश गरिएको छ । कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र पेस गरिएको हो ।

लिला पछाई र विश्वविक्रम राईलाई भने क्रिप्टोको कारोबारको आरोपमा पनि मुद्दा चलाइएको छ । उनीहरुविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ । जीबीसहित १९ जनाविरुद्ध गत शुक्रबार नै यही बिगो र थप कसुरमा मुद्दा दायर भइसकेको छ ।

सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले अनुसन्धानका लागि पाउने ९० दिनको समय सकिएपछि रविसहितका प्रतिवादीहरुलाई आइतबार कार्यालय खुल्नासाथ अदालत पुर्‍याइएको थियो । शुक्रबार नै अदालतले दिएको म्याद सकिए पनि शनिबार विदा भएकाले आइतबार मात्रै अभियोगपत्रसाथ सरकारी वकिल कार्यालयले उपस्थित गराएको हो।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रविसहित पाँच जनाविरुद्ध अदालतमा अभियोगपत्र पेस गरेको जनाएको छ। पूरक जाहेरी लिएपछि पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि, नेटवर्कका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध छुट्टाछुट्टै मागदाबी गरिएको छ । सहकारी ठगी प्रकरणमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसबीचमा उनीसँग कास्कीका अलवा रुपन्देही, काठमाडौं, चितवन र पर्सामा समेत बयान लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्