Logo

मुग्लिन–नौबिसे सडक आजदेखि दैनिक तीन घण्टा बन्द (सूचनासहित)

मुग्लिन–नौबिसे सडक आजदेखि दैनिक तीन घण्टा बन्द (सूचनासहित)



काठमाडौं । मुग्लिङ–नौबिसे सडक खण्ड आज (आइतबार) देखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले आजदेखि पाँच दिनसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न लागिएको नागढुङगा–मुग्लिन सडक योजनाले जानकारी दिएको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय दरइका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय गरेको हो । सडक बन्द हुने अवधिभर भारी र हलुका सवारी साधनलाई रोकिने स्थान समेत तोकिएको छ । दरइका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ ।

यस्तै चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारी चालिसे र हलुका सवारी घाटबेँसीमा रोकिने छ । यस्तै विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ ।
यसै गरी मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने उनले जानकारी दिए। एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडिने उनले बताए । सवारी साधन रोक्दा र चलाउँदा लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्