Logo

रविको हिरासतको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गर्छाैं : कास्की प्रहरी

रविको हिरासतको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गर्छाैं : कास्की प्रहरी



काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलास भुसालविरुद्ध कानुनी कारबाही अघि बढाउने जनाएको छ।

आज (बिहीबार) विज्ञप्ति जारी गर्दै प्रहरीले हिरासतको फोटो सार्वजनिक गर्ने कार्य अनुसन्धानलाई नकारात्मक प्रभाव पार्ने भएकोले उक्त कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । प्रहरीले विज्ञप्ति निकाल्दै भनेको छ, ‘प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न जो कोही व्यक्तिलाई कानूनी दायरामा ल्याई नेपालको संविधान र प्रचलित ऐनअनुसार अनुसन्धान तथा कारबाही गरिनेछ ।’

फोटो खिच्ने र सार्वजनिक गर्ने व्यक्तिलाई कानूनी कठघरामा ल्याउन प्रतिबद्धता जनाउँदै प्रहरीले फौजदारी न्याय प्रणालीका मूल्य–मान्यताहरूको पालना गर्दै प्रमाणमुखी अनुसन्धान गर्ने बताएको छ । यसअघि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई ‘हिरासत तस्बिर’ सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिएका थिए । गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको सचिवालयले जनाएको छ ।

‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकको भनाई उद्धृत गर्दै सचिवालयले भन्यो, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ ।’

रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर डा. निकोलास भुसालको फेसबुक आइडीबाट सार्वजनिक भएको थियो । भुसालले फोटो आफूले खिचेको स्वीकार गर्दै यसअघि नै गल्ती भएको स्पष्ट पारेका थिए । उनले रविलाई भेट्न गएका बेला उक्त तस्बिर खिचेको बताएका छन् । यो घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । रवि लामिछानेको हिरासतमा रहेको फोटो सार्वजनिक हुनु प्रहरी प्रशासन र हिरासतमा रहेको व्यक्तिको गोपनीयता विषयमा गम्भीर प्रश्न खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस्