Logo

वैद्यखानामा मन्त्री पौडेलको अनुगमन, भने-तलब खुवाउन मन्त्रालयको मुख नताक्नु

वैद्यखानामा मन्त्री पौडेलको अनुगमन, भने-तलब खुवाउन मन्त्रालयको मुख नताक्नु



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरवार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् ।

मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिँदै आएका छन् । सोहीअनुरूप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचेजस्तो उत्पादन वृद्धि नभएपछि स्थलगत अनुगमन गरेका हुन् ।

मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिँदै आमरुपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीको ध्यानाकर्षण गराए । पर्याप्त औषधि उत्पादन नभएकोबारे गुनासो सुनेपछि मन्त्री पौडेलले उत्पादन बढाउन हर सम्भव उपाय लगाउन आग्रह गरे ।

‘बजारमा जति औषधि उत्पादन भए पनि वैद्यखानाको औषधि बिक्री हुने रहेछ’ उनले भने, ‘तपाईँहरूले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ ।’

कर्मचारीहरूले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसंग सुनाए । सार्वजनिक संस्थानहरूलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब खुवाउनका लागि सरकारले रकम दिन नसक्ने उनले प्रष्ट पारे ।

‘तपाईँहरूको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौँ’ मन्त्री पौडेलले भने, ‘तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपदान दिन सकिन्न ।’

मन्त्री पौडेलले बजारमा सिंहदरवार वैद्यखानाको औषधि किन्न खोज्दा समेत नपाइने अवस्था आएको भन्दै पर्याप्त कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न निर्देशन समेत दिए ।

उनले तीन दिनभित्र समस्या समाधान गरी उत्पादन बढाउने योजना ल्याउन पदाधिकारीलाई आग्रह गर्दै भने, ‘उत्पादन बढाउने योजनामा बजेट अभाव हुन दिन्नौँ ।’

प्रतिक्रिया दिनुहोस्