काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकहरुविरुद्ध दायर गरेको रिट उच्च अदालत विराटनगर, इलाम इजलासले खारेज गरेको छ। बी एन्ड सी मेडिकल कलेजका लागि लिएको ऋण सम्झौताविपरीत असुल गर्न बैंकले दबाब दिएको भन्दै प्रसाईँले निषेधाज्ञा माग गरेका थिए।
२०७१ मा ग्लोबल आईएमईको नेतृत्वमा विभिन्न बैंकहरूले बी एन्ड सी मेडिकल कलेजलाई मनसाय पत्र (एलओआई)का आधारमा १ अर्ब ४८ करोड कर्जा दिएका थिए। कलेजले सम्बन्धन नपाएपछि प्रसाईँले सावाँब्याज भुक्तानी रोकेका थिए। तर, रिट खारेज भएसँगै अब बैंकहरूले कर्जा असुल गर्न सक्नेछन्।
२०७९ यता कर्जा किस्ता नतिरेका प्रसाईँले हाल बी एन्ड सी मेडिकल कलेजको सम्बन्धन पाएका छन्। कुमारी बैंकलगायत चार बैंकलाई प्रतिवादी बनाउँदै उनले २०८० असारमा रिट दायर गरेका थिए।
प्रसाईँविरुद्ध अहिले संगठित अपराध र आपराधिक लाभको अनुसन्धान भइरहेको छ। भारतीय गुन्डा लरेन्स विस्नोयीसँग सम्बन्ध रहेको आशंका पनि प्रहरीले जनाएको छ।