Logo

चार महिनामा आयात निर्यात दुवै बढ्यो, व्यापार घाटा रु. २ खर्व ७७ अर्ब

चार महिनामा आयात निर्यात दुवै बढ्यो, व्यापार घाटा रु. २ खर्व ७७ अर्ब


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७४ को पहिलो चार महिनामा कुल वस्तु आयात र निर्यात दुवै बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

कात्तिकसम्ममा नेपालबाट हुने निर्यात बढी रु. २४ अर्ब ५२ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २९ दशमलव १ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा भारततर्फ २३ दशमलव २ प्रतिशत, चीनतर्फ ३६ दशमलव ६ प्रतिशत र अन्य मुलुकतर्फ ९ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, जुटका सामान, जुत्ता तथा चप्पल, रोजिन, पिना, दाल लगायतका वस्तुको निर्यात बढेको छ । यता अलँैची, तयारी पोसाक, जिङ्क सिट, तरकारी, पोलिष्टर धागो लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

चार महिनामा कुल वस्तु आयात ८७ दशमलव ४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । जसअनुसार आयात रु.३ सय १ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३६ दशमलव ८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १ सय ६ दशमलव १ प्रतिशत, चीनबाट भएको आयात ७२ दशमलव ७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ५३ दशमलव२ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपूर्जा, पेट्रोलियम पदार्थ, एमएस विलेट,अन्य मेशिनरी तथा पार्टपूर्जा, संचारका उपकरण तथा पार्ट्स, सिमेन्ट लगायतका वस्तुको आयात बढेको छ । यता हवाईजहाजका उपकरण, कोल्डरोल सिट इन क्वाईल, चाँदी, सुपारी, तयारी पोशाक, लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, जलेश्वर भन्सार कार्यालय र सुख्खा बन्दरगाहा भन्सार कार्यालय नाकाहरुबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको हो ।

त्यसैगरी,आयाततर्फ समीक्षा अवधिमा कैलाली भन्सार कार्यालय नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ९७ दशमलव ९ प्रतिशतले बढी रु.२ सय ७७ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ३७ दशमलव ८ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्