काठमाडौं । सरकारले मोरङका देवराज ढुङ्गानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले यो जानकारी दिएका हुन् ।
यस्तै मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। यस्तै, नागढुङ्गा सुरुङमार्ग आयोजनाका लागि क्षतिपूर्ति तथा समस्या समाधानमा सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको छ।
त्यसैगरी, नेपाल सरकार र भारत सरकारबीच हुने खानेपानी तथा सरसफाइ क्षेत्रको विकाससम्बन्धी समझदारीपत्र स्वीकृत गरिएको छ। बैठकले राष्ट्रिय सहरी नीति स्वीकृत गर्ने निर्णय पनि गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।
अन्तर्राष्ट्रियस्तरका फुटबल, कराँते र बिच भलिबल प्रतियोगितामा विजयी तथा पदक विजेता खेलाडीहरू, प्रशिक्षक, व्यवस्थापक, र फिजियो गरी ३५ जनालाई खेलकुद मन्त्रालयमार्फत पुरस्कार र सम्मान प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ।