काठमाडौं । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । लामिछानेमाथि अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ प्रहरी हिरासतमा छन् । प्रहरीले लामिछानेलाई कात्तिक २ गते हिरासतमा लिएको थियो ।
पूर्वडीआईजी जोशी असोज ६ मा पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा ९० दिनभित्र उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्छ । जोशी पक्राउ परेको दिनबाटै अन्य ४ जनाको म्याद मिलान भएको हुनाले पुस ५ भित्र कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नुपर्ने समय सीमा रहेको छ ।
उनीहरूमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ । लामिछानेसहितलाई अनुसन्धानका लागि पछिल्लो पटक थपिएको म्याद सोमबार सकिदैछ । अनुसन्धान प्रतिवेदन अध्ययनकै क्रममा रहेकाले लामिछानेलाई मंगलबार प्रहरीले पुन: म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी गरेको छ ।