काठमाडौं । नेपाल इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । ग्लोबल आईएमई बैंकका तत्कालीन सीईओ बज्राचार्यलाई यसअघि बसेको इन्भेष्टमेन्ट कम्पनीको संचालक समिति बैठकले सीईओमा नियुक्त गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आइएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको १० अर्बको ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’ले विशेषगरी नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो । देशका सम्पूर्ण उद्योगी व्यवसायीले लगानी गर्न पाउनेगरी महासंघका अध्यक्ष ढकालको नेतृत्वमा उक्त कम्पनी हाल १ अर्ब रुपैयाँभन्दा बढी लगानी जुटिसकेको छ । हाल कम्पनीको मुख्य कार्यालय लैनचौरमा रहेको छ ।
अबका दिनमा उक्त कम्पनीमार्फत बहुपक्षीय साझेदारमार्फत ऋण ल्याएका नेपालका ठूला पूर्वाधार परियोजनामा लगानी गर्नका लागि स्वच्छ छविका अब्बल बैंकर बज्राचार्यलाई सीईओमा नियुक्त गरिएको कम्पनी स्रोतले जानकारी दिएको छ । विशेषगरी नेपालमा पर्यटन, कृषि, जलविद्युत तथा पूर्वाधार विकासमा लगानी गर्ने उद्देश्यक अनुरुप उक्त कम्पनी खडा गरिएको हो । सोही अनुरुप कम्पनीमा नेपालका सम्पूर्ण निजी क्षेत्रको प्रनिधित्व हुने गरी संचालक समिति समेत चयन गरिएको छ ।
महासंघ अध्यक्ष ढकालले नेपालमा पूर्वाधारमा लगानी जुटाउने उद्देश्यसहित महासंघको ढोरपाटनमा भएको कार्यसमिति बैठकबाट १० अर्बको इन्भेष्टमेन्ट कम्पनी खोल्ने उद्घोष गरेका थिए । उक्त कम्पनीमा नेपालका सम्पूर्ण निजी क्षेत्रलाई प्रतिनिधित्व गराउन संचालकमा नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटा र आध्यन्ताका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको लगानी तथा अन्तरराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेललाई चयन गरिएको छ ।
कुल १० अर्ब पुँजीको लगानीमा स्थापित उक्त कम्पनीले सर्वसाधारणमा सेयरसमेत जारी गर्ने छ । सबै लगानीकर्तालाई समेटेर राष्ट्र निर्माणमा सबैको अपनत्व हुनेगरी पुँजी जुटाईने र सोहीअनुरुप देशले पूर्वाधार विकासमा गति लिनुका साथै लगानीकर्ताले समेत उच्च मुनाफा पाउने कम्पनीका एक संचालकले जानकारी दिए ।