काठमाडौं । छिमेकी देश पाकिस्तान यतिबेला गहिरो आर्थिक संकटबाट गुज्रिरहेको छ । देशको कमजोर आर्थिक अवस्थाले यसको प्रमुख राष्ट्रिय वायुसेवा पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) लाई पनि असर गरिरहेको छ । अत्यावश्यक स्पेयर पार्टस र अन्य उपकरणको अभावमा पिआईएको आधा जहाज सेवा सञ्चालन बाहिर छ ।
प्रतिवेदनअनुसार पिआइएका ३४ वटा विमानमध्ये १७ वटा प्राविधिक समस्याका कारण उडान भर्न नसक्ने अवस्थामा छन् । जसमा बोइङ ७७७, एयरबस ए३२० र साना एटीआर विमान पर्छन् । १२ मध्ये ७ बोइङ ७७७ र १७ एयरबस ए३२० विमानमध्ये ७ ग्राउण्डेड छन् । पाँच एटीआर विमानमध्ये दुईवटा मात्र उडान अवस्थामा छन् ।
एयरलाइन्स स्रोतका अनुसार इन्जिन, ल्यान्डिङ गियर र सहायक पावर युनिटजस्ता अत्यावश्यक पार्टपुर्जाको अभाव हुनुको मुख्य कारण आर्थिक अभाव र सम्बन्धित मन्त्रालयको क्लियरिङमा ढिलाइ हो । यसअघि पाकिस्तान सरकारले ऋण घटाउन एयरलाइन्सको ६० प्रतिशत सेयर बेच्ने प्रयास गरेको थियो । तर १० अर्ब पाकिस्तानी रुपैयाँको बोली मात्रै प्राप्त भयो, जुन सोचेभन्दा निकै कम थियो । फलस्वरूप, निजीकरण आयोगले बोलपत्र अस्वीकार गर्यो र प्रक्रियालाई पुनः सुरु गर्ने निर्णय गर्यो ।
अहिले पीआईएको परिचालन क्षमतामा गम्भीर असर परेको छ । यस्तो अवस्थामा पीआईएले युरोपमा आफ्नो सेवा पुनः सुरु गर्ने योजना बनाएको छ । पेरिसको लागि दुई साप्ताहिक उडानहरू शुरु गरेको भएपनि सेवा सुचारु गरिरहन गाह्रो छ । अहिलेको अवस्था यस्तै रह्यो भने पाकिस्तान एयरलाइन्सको अस्तित्वमा ठूलो प्रश्न खडा हुन सक्छ ।
नेपाल एयरलाइन्सका लागि पाठ
पाकिस्तान एयरलाइन्सको अहिलेको अवस्था नेपालको राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सका लागि पनि गतिलो पाठ बन्न सक्छ । समयमै उपयुक्त व्यवस्थापन गर्न नसक्दा र दुरुपयोग भइरहे अवस्था यस्तो पनि आउन सक्छ भन्ने नेपाल वायुसेवा निगमको नेतृत्वमा रहेकाहरुले समयमै बुझ्नु जरुरुी छ । अहिले सरकारको भरथेग र जमानीमा ऋण प्राप्त गरेर जेनतेन चलिरहेपनि सधै यही अवस्था निगमका लागि पनि हुन सक्छ । त्यसैले निगमले समयमै आफ्नो गरिमालाई कायम राख्दै अगाडि बढोस ।