काठमाडौं । वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौँ आएका छन् । उनी आज बिहान काठमाडौँ ओर्लेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरे ।
लारा क्यानको निमन्त्रणामा काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण हेर्न काठमाडौँ आएका हुन्। वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहेका उनले एनपिएलका केही खेल हेर्ने र खेलाडीहरुसँग साक्षात्कार गर्ने क्यानले जनाएको छ ।
क्रिकेटर लाराले वेष्टइण्डिजका लागि सन् १९९० देखि २००७ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले वेष्टइण्डिजका लागि एक सय ३१ टेष्ट खेल खेलेका छन्। एक सय ३१ खेलबाट लाराले ११ हजार नौ सय ५३ रन बनाएका थिए । उनले टेस्ट क्रिकेटमा ३४ शतक प्रहार गरेका छन् भने ४८ अर्धशतक प्रहार गरेका छन्।