काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत साइबर अपराध मुद्दामा काठमाडौं जिल्ला अदालतले ४० हजार रुपैयाँ धरौटीमा रिहा गरेलगत्तै अदालतको परिसरबाटै उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पुनः नियन्त्रणमा लिएको हो।
प्रसाईंलाई अब आपराधिक लाभ र संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
प्रहरीले भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाममा धम्की दिने कार्यमा प्रसाईंको संलग्नता रहेको दाबी गरेको छ। अनुसन्धानमा, प्रसाईंका निकटस्थ हरिचन्द्र फुयाँलले व्यवसायीलाई धम्क्याउन पाँच लाख रुपैयाँ पाएको स्वीकारेका छन्। यो धम्की प्रकरणमा प्रसाईंसहित अन्य व्यक्तिहरूको भूमिका पनि शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।