काठमाडौं । कार्तिक २०८१ मा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशतमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको पहिलो ४ महिना (साउनदेखि कार्तिकसम्म)को तथ्यांक सार्वज्निक गर्दै गत बर्षको सोही महिनाको तुलनामा चालु आवको यो अवधिमा मुद्रास्फीति बढेको बताएको हो । गत आर्थिक बर्षको कार्तिकमा यस्तो मुद्रास्फीति ५.३८ प्रतिशत थियो ।
यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा मुद्रास्फीति ९.१० प्रतिशत पुगेको छ भने गैर(खाद्य तथा सेवा समूहमा यो ३.६५ प्रतिशत रहेको छ।
खाद्य समूहमा विशेषगरी तरकारीको मूल्य ३३.९९ प्रतिशतले बढेको छ। दाल तथा गेडागुडी, खाद्यजन्य पदार्थ, र घ्यू–तेलको मूल्यमा क्रमशः १०.७८ प्रतिशत, १०.१५ प्रतिशत, र ९.२९ प्रतिशतले वृद्धि भएको छ। यसबीच, मरमसला, चिनी तथा चिनीजन्य पदार्थ, र माछा(मासुको मूल्य भने घटेको छ।
गैर–खाद्य समूहमा विविध वस्तु तथा सेवाको मूल्य १०.४१ प्रतिशतले बढेको छ, जब कि कपडा र जुत्ताचप्पलमा ४.५७ प्रतिशत र मदिराजन्य वस्तुमा ६.३५ प्रतिशतले वृद्धि भएको छ।
प्रदेशगत विश्लेषणअनुसार, कोशी प्रदेशमा सबैभन्दा उच्च मुद्रास्फीति ७.१९ प्रतिशत देखिएको छ, जबकि कर्णाली प्रदेशमा यो ३.२१ प्रतिशतमा सीमित रह्यो। ग्रामीण क्षेत्रमा मुद्रास्फीति ६.१९ प्रतिशत र सहरी क्षेत्रमा ५.३९ प्रतिशतले बढेको छ।
थोक मुद्रास्फीति पनि ५.१६ प्रतिशतमा पुगेको छ, अघिल्लो वर्षको २.०९ प्रतिशतभन्दा दोब्बरभन्दा बढी। उपभोग्य वस्तुहरूको थोक मूल्य ९.०२ प्रतिशतले बढेको छ, जब कि निर्माण सामग्रीमा ४.६२ प्रतिशतले कमी आएको छ। यो वृद्धि उपभोक्ताका लागि थप चुनौतीपूर्ण परिस्थितिको संकेत हो।