Logo

प्रधानमन्त्री ओली आज तेह्रथुम जाँदै, विद्यालय उद्घाटनलगायत कार्यक्रममा सहभागी हुने

प्रधानमन्त्री ओली आज तेह्रथुम जाँदै, विद्यालय उद्घाटनलगायत कार्यक्रममा सहभागी हुने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार तेह्रथुम जाँदैछन् । आठराईस्थित प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनका लागि ओली हेलिकप्टरमार्फत आठराई आउन लागेको तेह्रथुमका प्रदेश सांसद किशोरचन्द्र दुलालले जानकारी दिए ।

ओली बिहान साढे १० बजे तेह्रथुम आइपग्ने तेह्रथुमका सांसद सीता गुरुङले जानकारी दिएकी छन् । ओलीको स्वागतका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायत एमाले र कांग्रेसका नेता इवा पुगेका छन् । ओलीको जन्मस्थान तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–४, इवास्थित श्री प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित १८ कोठे पक्की भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको दुलालको भनाइ छ । ओलीले सोही ठाउँमा रहेको तेह्रथुम बहुप्राविधिक शिक्षालयको पनि अवलोकन गर्नेछन् ।

उक्त भवन उद्घाटनका लागि कोरियन उम हङ गिल फाउन्डेशनका प्रतिनिधि पनि आठराई पुग्ने जनाइएको छ। ओलीले केही वर्षअघि आफ्नो जन्मथलोमा रहेको पुरानो घरको छेउमा हेलिप्याड निर्माण गरेका छन् । उनी त्यहीँ अवतरण गरेर विद्यालयतर्फ जाने कार्यतालिका रहेको छ ।

स्कूल भवनको निर्माण उम हङ गिल ह्युम्यान फाउन्डेशन, कोरियाको ४ करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारबाट २१ लाख ४० हजार र आठराई गाउँपालिकाको ६९ लाखको साझेदारीमा निर्माण भएको हो । फाउन्डेशनको उच्च लगानीमा बनेको भवन सबैपक्षको सहयोग गरी कुल ५ करोड पचास लाख हाहारीमा तयार भएको विद्यालयका प्रअ अमृतबहादुर बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्