काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको यही मंसिर १७ गतेदेखि २० गतेसम्म भएको चीनको औपचारिक भ्रमणमा विभिन्न ९ वटा विषयमा सम्झौता भए । उक्त भ्रमणकै क्रममा नेपाल उद्योग वाणिज्य महासंघले चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नेपालका विकासको सम्भावना बारे चिनियाँ उद्योगी व्यवसायीलाई बुझाउन सफल भयो ।
उक्त भ्रमणको अवसरमा नेपालबाट महासंघले नेतृत्व गरेको उक्त कार्यक्रममा महासंघको वैदेशिक लगानी एवं अन्तराष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा ऊर्जा, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे प्रस्तुतीकरण दिएका थिए । जुन चिनियाँ उद्योगी व्यवसयाीलाई नेपालको विकासको सम्भावनाबारे बुझाउन एकदमै उपलब्धिमुलक सामग्री थियो । पौडेलले आफ्नो प्रस्तुतीकरणमा नेपालको ऊर्जा, पूर्वाधार, उत्पादनमुलक क्षेत्रमा ठूलो सम्भावना रहेको भन्दै त्यसमा चिनियाँ लगानीकर्तालाई आकर्षित गराएका थिए ।
उक्त समिटमा विशेषगरी महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका अध्यक्ष तथा पदाधिकारीलाई एउटै मञ्चमा राखेर महासंघकै आग्रहमा सरकारले लगानीसम्बन्धी विभिन्न ८ वटा कानुन संशोधन गरिसकेको भन्दै अबका दिनमा नेपाल सरकार र नेपाली व्यवसायीहरु विदेशी लगानीलाई सहज रुपमा भित्र्याउन आतुर रहेको भन्दै चिनियाँ व्यवसायीलाई नेपालमा लागनी गर्न आग्रह गरेका थिए । ‘यो एक बर्षको अवधिमा व्यवसायिक वातावरण बनाउन द्धिपक्षीय लागनी सम्झौताको खाका पनि तयार भएको छ,’ कार्यक्रममा उपस्थित चिनियाँ व्यवसायीहरुलाई उनले भने, ‘नेपालको पहिलोपटक क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो आएको छ, तसर्थ विदेशी लगानीकर्ताहरु ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको छ ।’
ससिपिआइटीको मुख्यालय बेइजिङमा भएको उक्त कार्यक्रममा चीन सरकारका तर्फबाट चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले नेतृत्व गरेका थिए भने सिसिपिआइटीका उपाध्यक्ष झांग साओगांग सहित करिव १५० जना चिनियाँ व्यवसायी मण्डलको सहभागिता रहेको थियो । यसैगरी नेपाली पक्षका पनि सरकारी र व्यवसायी प्रतिधिनि मण्डलसहित करिव ८० जनाको सहभागिता रहेको थियो । उक्त भेलालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताउँदै नेपालमा चिनियाँ लगानीकर्ताले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने बताए । साथै उनले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको जानकारी दिएका थिए । ‘पछिल्लो समय पर्यटन पूर्वाधारहरु जस्तै केवलकार, थिम पार्क, रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको छ,’ उनले भने, ‘नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएकाले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्नुपर्दछ ।’
उनले लगानीको वातावरण थप सुधार गर्न सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोगको आफु पनि सदस्य रहेको भन्दै मुलकभित्र व्यवसायिक वातावरण बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै चिनियाँ लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रहसमेत गरेका थिए । चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो साझेदार मुलुक भएपनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको बताउँदै अबका दिनमा नेपालको कृषिजन्य उत्पादनहरुको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने बताएका थिए ।
समिटलाइ सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको र आगामी दिनमा चिनियाले लगानी विस्तार हुने विस्वास व्यक्त गरेका थिए । साथै उनले चीन रहेको बताउँदै अबका दिनमा चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने जानकारी दिएका थिए । यस्तै सिसिपिआइटीका उपाध्यक्ष झांग साओगांगले महासंघ आफ्नो पुरानो साझेदार संस्था रहेको र सो समिटले द्धिपक्षीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण हुने बताएका थिए ।
साथै सिसिपिआइटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने जानकारी दिँदै महासंघ र सिसिपिआइटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने विश्वाससमेत व्यक्त गरेका थिए । उक्त भ्रमणको अवसरमा महासंघले गरेको सो समिटले नेपाली र चिनियाँ व्यवसायीबीच बी टु बी बैंठक समेत भएको थियो । जसमा ऊर्जा, पर्यटन, कृषि, उत्पादनमुलक क्षेत्रबाट व्यवसायीले आआफ्नो विषयमा ब्यापार विस्तारको विषयमा विस्तृतमा छलफल गरेका थिए ।