Logo

लगातार बढ्दै सुन-चाँदी धितो कर्जा, ४ महिनामा ४ अर्ब बढी कर्जा प्रवाह

लगातार बढ्दै सुन-चाँदी धितो कर्जा, ४ महिनामा ४ अर्ब बढी कर्जा प्रवाह



काठमाडौं । पछिल्लो समय नेपालमा सुन र चाँदी धितो राखेर लिइने कर्जाको मात्रा उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ । विश्व बजारमा सुन र चाँदीको मूल्य लगातार उकालो लागिरहेका बेला नेपालमा पनि यी धातुको आकर्षणले बैंकिङ प्रणालीमा कर्जा प्रवाहको स्वरुपमा प्रभाव पारेको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को कार्तिकसम्म वाणिज्य बैंकहरूबाट सुन र चाँदीको धितोमा ५७ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो गत आर्थिक वर्षको असार मसान्तको तुलनामा ४ अर्ब १२ करोड रुपैयाँले बढी हो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा मात्रै सुन र चाँदी धितो कर्जामा ३.४९ प्रतिशतको वृद्धि भएको देखिन्छ । यो वृद्धिले नेपालमा सुन र चाँदीजस्ता धातु सुरक्षित धितोका माध्यमबाट कर्जाको माग तीव्र रूपमा बढिरहेको स्पष्ट पार्छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म यस्तो कर्जा ५० अर्ब ५७ करोड रुपैयाँ रहेको थियो, जुन २०७८/७९ को तुलनामा ५.७७ प्रतिशतले बढी थियो । यस्तै, आव २०७९/८० देखि आव २०८०/८१ को असारसम्म ५.६३ प्रतिशतको वृद्धिसहित यो कर्जा ५३ अर्ब ४२ करोड पुगेको थियो ।

सुन र चाँदीलाई सुरक्षित धितोको रूपमा हेर्ने परम्परागत धारणा नेपालजस्तै विकासशील देशमा अझै बलियो छ । यस्तै बैंकहरूले पनि यस्तो धितोका आधारमा कर्जा प्रवाह गर्दा कम जोखिम महसुस गर्ने भएकाले कर्जाका लागि यस्ता धातु प्राथमिक धितो बन्ने गरेका छन् ।

नेपाल राष्ट्र बैंकका एक अधिकारीका अनुसार विश्व बजारमा सुनको मूल्यवृद्धिले यसप्रकारको कर्जाको आकर्षण थप बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य चालु वर्ष प्रतिऔंस २ हजार ७ सय अमेरिकी डलर नजिक पुगेको थियो । मूल्यवृद्धिका कारण सुनको बजारमा लगानीको आकर्षण बढ्नुका साथै धितोका रूपमा यसको प्रयोग पनि विश्वभर बढेको छ । धेरै देशहरूमा, विशेषगरी भारत र चीनमा, सुन धितो राखेर कर्जा लिने प्रवृत्ति लोकप्रिय छ । नेपालमा पनि यो प्रवृत्ति पछिल्लो दशकमा तीव्र भएको छ ।

सुन र चाँदी धितो राखेर लिने कर्जा मुख्यतः व्यक्तिगत आवश्यकता, साना व्यवसायको पूँजी प्रवाह, र आपतकालीन वित्तीय आवश्यकताका लागि उपयोग हुने गरेको छ । यस्ता कर्जामा बैंकहरूले धितोको मूल्यको एक निश्चित अंश मात्र कर्जा प्रवाह गर्ने भएकाले जोखिम तुलनात्मक रूपमा कम हुने गर्दछ । तर, यस्तो कर्जा वृद्धिले केही सम्भावित चुनौती भने निम्त्याउन सक्ने जानकार बताउँछन् ।

सुनको मूल्यमा भएको अस्थिरताले कर्जाको गुणस्तरमा असर पार्न सक्छ । यदि भविष्यमा सुनको मूल्यमा तीव्र गिरावट आएमा बैंकहरूले लगानी सुरक्षित राख्न थप चुनौती भोग्नुपर्ने हुन्छ । त्यस्तै, अत्यधिक सुन धितो कर्जा प्रवाहले कर्जाको विविधता घटाउन सक्ने र बैंकिङ प्रणालीलाई केही सीमित धितो स्रोतमा निर्भर बनाउन सक्ने सम्भावना रहन्छ ।

नेपालजस्तै देशमा सुन र चाँदीमा आधारित कर्जाको वृद्धि लेअर्थतन्त्रमा केही सकारात्मक संकेत पनि दिन्छ । यी धातुलाई धितो राखेर लिने कर्जाले वित्तीय संस्थाहरू र कर्जाग्राहीबीचको विश्वास बलियो बनाएको छ । तर, यस प्रवृत्तिलाई दीर्घकालीन रूपमा सन्तुलनमा राख्न नियामक निकायहरूको सक्रियता आवश्यक रहेको विज्ञहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्