काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ । मंगलबार मध्याह्न चितवन राइनोजलाई ३३ ले हराउँदै लुम्बिनीले पहिलो जीत हात पारेको हो ।
लुम्बिनीले दिएको १६८रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सक्यो । पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ । लुम्बिनीलाई जिताउन कप्तान रोहित पौडेलले अलराउण्डर प्रदर्शन गरे । रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो ।
लुम्बिनीलाई बलियो स्थितिमा पुर्याउन पौडेल र साद बिन जाफरले सानदार ब्याटिङ गरेका थिए । पौडेल र जाफरबीच सतकीय साझेदारी भएको थियो । ४९ रनमा चार विकेट गुमाएको अवस्थाबाट उनीहरूले टिमलाई बलियो स्कोरमा पुर्याएका थिए ।
पौडेलले अन्तिम ओभरमा आउट हुनुअघि ८० रन बनाए । ५७ बल खेलेका उनले ६ चौका र पाँच छक्का प्रहार गरे । जफरले ५२ बनाए। ३५ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे । अर्जुन साउद १५, टम मुर्स १०, आशुतोष घिरैया एक र उन्मुक्त चन्द शून्यमा आउट भए । सन्दीप जोरा ४ रनमा अविजित रहे ।
चितवनका लागि रिजन ढकाल तीन, रञ्जितकुमा र कप्तान कुशल मल्लले समान एक÷एक विकेट लिए । यसअघि ४ खेलमा चितवनले ३ खेलमा जीत निकालेको थियो । चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले पाखा लगाएको थियो ।
तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको चितवनले चौथो खेलमा भने उत्कृष्ट लयमा रहेको सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पाखा लगाएको थियो । लुम्बिनीले भने यसअघिका चार खेलमा पराजय ब्यहोरेको थियो । पहिलो खेलमा लुम्बिनी विराटनगर किङ्ससँग २ विकेटले पराजित भएको थियो भने पोखरा एभेन्जर्ससँग १० विकेटले स्तब्ध बनेको थियो । त्यस्तै सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको लुम्बिनी जनकपुर बोल्ट्ससँग १ रनले स्तब्ध बनेको थियो।