काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनासम्बन्धी मुद्दामा आज वीरगंजमा बयान लिइदै छ । सोमबार वीरगंज पुर्याइएका लामिछानेलाई पर्सा प्रहरीको हिरासतमा राखिएको छ ।
लामिछानेले सानो पाइला सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा सामना गरिरहेका छन्। गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक रहेका बेला सहकारीको ८ करोड ५८ लाख रुपैयाँभन्दा बढी रकम ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा जम्मा गरिएको छानबिन समितिले उल्लेख गरेको छ। ती रकम विभिन्न समयमा सानो पाइला सहकारीबाट सात पटक सारिएको जनाइएको छ।
लामिछानेलाई जिल्ला अदालत पर्साले गत बुधबार पक्राउ गर्न अनुमति दिएको थियो। सोमबार उनलाई पोखराबाट हवाई मार्ग हुँदै काठमाडौं, त्यसपछि सिमरा र अन्त्यमा स्थलमार्गबाट वीरगंज ल्याइएको हो । उनलाई आज बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगिने भएको छ ।
यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पनि सोमबार बिहान स्थलमार्ग हुँदै वीरगंज ल्याइएको छ। दुवैजनासँग प्रहरी र सरकारी वकिलको टोलीले बयान लिने काम अघि बढाएको जनाइएको छ।
सानो पाइला सहकारीका १ सय ७९ बचतकर्ताले एक वर्षअघि सहकारी सञ्चालक समिति, लेखा समिति र कर्मचारीविरुद्ध उजुरी दिएका थिए।
अनुसन्धानपछि सहकारीकी पूर्व उपाध्यक्ष नेहा पौडेललाई १ करोड १० लाख रुपैयाँ धरौटीमा रिहा गरिएको थियो। त्यस्तै, कर्मचारी राधेचन्द्र यादव ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी र संरक्षक गीतेन्द्र बाबु राईलगायत ११ जना फरार छन् भने कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा रहेका छन् ।