Logo

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना : आठको मृत्यु, चार जना घाइते

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना : आठको मृत्यु, चार जना घाइते



काठमाडौँ । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किदै गरेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बालबालिकासहित ४ जना घाइते छन् ।

चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई रोडबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिएका छन् ।

मृतकमध्ये अधिकांशको सनाखत हुन सकेको छैन । ‘गढीमाई दर्शन गरेर घर फर्कदै गर्दा स्कर्पियो सडकबाट तल खसेर रुखमा ठोक्किए पछि पल्टिएको रहेछ,’ उनले भने, ‘घटना लगत्तै पुगेर घाइतेहरूको उद्धार गरी अस्पताल ल्याएका छौं । घाइतेमध्ये ८ जनाको मृत्यु भएको छ ।’

घटनास्थलमा तत्कालै डीएसपी राईसहितको टोली पुगेको थियो । प्रहरीका अनुसार सिराहा अर्नमा गाउँपालिका–३ का ६० वर्षीया फुलमन्ति रामको उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै नाम थर वतन नखुलेको अन्दाजी ४५ वर्षीय स्कर्पिओ चालकको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा दुई बालबालिकासहित घाइतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक जनालाई थप उपचारको लागि वीरगन्ज रेफर गरिएको डीएसपी राईले जानकारी दिए । मृतकका परिवारहरू आए पछि मात्र सनाखत हुने प्रहरीको भनाइ छ । घाइतेहरू बोल्न सक्ने अवस्थामा नभएकाले सनाखतमा समस्या भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्