काठमाडौं । नेपाली बजारमा हरेक वर्ष कार्तिक अन्तिम हप्ता र मंसिरको पहिलो हप्तादेखि किसानले उत्पादन गरेको तरकारी बजारमा मनग्य उपलब्ध हुन्छ । यहि समयमा काउली, बन्दा, गोलभेडालगायतका तरकारीहरुको उत्पादन उच्च हुने र बजारमा सोहीअनुसार आपूर्ति पनि उच्च हुन्छ । जसको प्रभाव कात्तिक अन्तिम सातादेखि माघसम्म तरकारीको मूल्य अन्य समयको तुलनामा घट्ने गर्छ र उपभोक्ताले राहत महसुुस गर्छन । यसअघिक वर्षहरुको तरकारी मूल्य प्रवृत्तिले पनि यस्तो देखाउँछ । तर, यो बर्ष कात्तिक सकिएर मंसिर सकिन लाग्दासमेत उपभोक्ताले तरकारीको मूल्य घटेको महसुस गर्न पाएका छैनन् ।
तरकारीका लागि नेपालको सबैभन्दा ठूलो थोक बजार मानिने कालिमटिी फलफूल तथा तरकारी बजारमै पनि पछिल्लो समय तरकारीको मूल्य घट्नुको साटो बढिरहेको तथ्यांकले देखाउँछ। पछिल्लो ३ महिनाको मात्रै तुलना गर्ने हो भनेपनि दैनिक उपभोग्य तरकारीमध्येको प्रमुख गोलभेडाको मूल्य मात्रै दोब्बरले बढेको देखिन्छ ।
कालिमाटी तरकारी बजारमा भदौ २४ गते औसतमा प्रतिकिलो २५ रुपैयाँ (थोक मूल्य) मा कारोबार भईरहेको सानो गोलभेडाको मूल्य पछिल्लो ३ महिनामा तेब्बरले बढेर ७५ रुपैयाँ पुगेको छ । यस्तै टनेलको सानो गोलभेडा पनि यस अवधिमा २ सय २८ प्रतिशतले बढिसकेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ । यस अवधिमा मुख्य उपभोग्य तरकारीका रुपमा रहेका काउली, बन्दा, भ्यान्टा, आलु, गाजर, बोडी, घ्यु सिमी, करेलालगायतको मूल्यमा उच्च वृद्धि भएको देखिन्छ ।
पछिल्लो केहि समय हरियो तरकारी अर्थात सागको मूल्यमा केहि गिरावट आएपनि गत बर्षको यहि अवधिको तुलना गर्ने हो भनेपनि अन्य तरकारीहरुको मूल्य उच्चरुपमा बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । ‘खासगरी मंसिर पहिलो हप्तादेखि नै बजारमा तरकारी घटेको मूल्यमा पाइनुपर्ने हो,’ उनले भने, ‘तर, यसपटक मंसिर वित्नलाग्दासम्म पनि तरकारीको मूल्य घट्ने छाँटकाँट देखिँदैन ।’
उनले खासगरी यो वर्ष तरकारी रोप्ने बेलामै बाढीका कारण तरकारी लगाउन सकस परेकाले यसको उत्पादन नै घटेको देखिन्छ । तर, नेपालमा उत्पादन कम हुँदा पनि भारतबाट आउने तरकारीले पनि आपुर्ति पुग्ने गरेको थियो । यसपटक भारतबाट पनि धेरै तरकारी नआएको र आएपनि उच्च मूल्यमा आएका कारण बजारमा तरकारीको अभाव देखिएको उनको भनाई छ । ‘तरकारी आपुर्ति हुने समयमै कम आपूर्ति भईदिँदा यसको असर माग र आपूर्ति श्रृंखलामा परेको देखिन्छ,’ उनले भने, ‘यसैका कारण पनि हालसम्म नेपालमा तरकारीको मूल्य नघटेको हो कि ? यो समस्या कालिमाटीको मात्रै नभएर देशैभर उस्तै छ ।’
यसपटक असोजमा अविरल वर्षाले मध्य र पूर्वी नेपालका अधिकांश भेगमा गम्भीर क्षति पुर्याएको थियो । तरकारी धेरै उत्पादन हुने क्षेत्रमा बाढीका कारण कतिपय किसानहरुले तरकारी नै रोपेनन्, कतिपयले रोपेको तरकारीमा पनि बाढी पसेपछि नष्ट भएर गयो । यसैका कारण यसपटक तरकारीको भाउ अझै घट्न नसकेको हुनसक्ने अनुमान काभ्रेका तरकारी कसिान हरि नकर्मी बताउँछन् । उनका अनुसार गत बर्ष कृषकहरुले लगाएको गोलभेडाको उचित मूल्य पाउनै सकेनन् । त्यसको असरले पनि यसपटक धेरै कृषकहरुले गोलभेडा लगाउनमा त्यति ध्यान दिएनन् । यसको असर सीधै यसको आपुर्तिमा पर्यो र अझैपनि गोलभेडाको मूल्य उच्च छ ।
अझ त्यसमाथि मंसिरमा धेरै भोजभतेरको समय पनि भएकाले तरकारीको माग उच्च हुँदा मूल्य नघटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । ‘अहिले भोजभतेरको समय पनि हो, यो अब सकिँदै छ,’ उनले भने, ‘अब भने तरकारीको मूल्य घट्ला कि ?’
नेपाल राष्ट्र बैंकलाई आधार मान्दा पनि चालु आर्थिक बर्षको पहिलो ३ महिनासम्म खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २५.१५ प्रतिशतले बढेको देखिन्छ । तथ्यांकमासमेत तरकारीको मूल्य लगातार बढिरहँदा यसले उपभोक्ताको दैनिक जीवनमा प्रभाव परिरहेको छ ।