काठमाडौं । सिरियामा विद्रोही सेनाले राजधानी दमास्कस कब्जामा लिएपछि देश छाडेर भागेका राष्ट्रपति बसर–अल–असद रुस पुगेका छन् । सिरियाली राष्ट्रपति असद आफ्ना परिवारसँग मस्को पुगेको रुसी राष्ट्रपतिको कार्यालय क्रमेलिनको स्रोतलाई उद्धृत गर्दै रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
असदसहित उनका परिवारलाई रुसले औपचारिक रुपमा शरण दिइसकेको छ । विद्रोही समूहले हिजो दमास्कस कब्जामा लिनुअघि नै राष्ट्रपति असद र उनका परिवार देश छाडेर भागेको थियो । राजधानी कब्जा गरेपछि विद्रोही सेना हयात तहरीर अल शाम्स एचटीएसका प्रमुख अबु मोहम्मद अल जोलानीले मश्जिदमा उपस्थित नागरिकलाई सम्बोधन गर्दै देशबाट तानाशाह भागेसँगै सिरिया स्वतन्त्र भएको उद्घोष गरेको र सिरियाली जनताको जित भएको बताएका छन्।
विद्रोही समूहले राष्ट्रपतिलाई सत्ताच्यूत गरेकोमा अमेरिका, बेलायत, युरोपियन युनियनलगायत पश्चिमा राष्ट्रले उक्त कदमको स्वागत गरेका छन् । तर लामो समयदेखि सिरियाको सहयोगीका रुपमा रहेका रुसको अस्तित्वमा भने प्रश्न उठेको टिप्पणी भइरहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सिरियाका लागि ऐतिहासिक दिन भएको बताएका छन् ।
इजरायलले सिरिया नजिक रहेको आफ्नो सीमा तैनाथी जारी रोखेको छ । नेतन्याहूले विद्रोही सूमहसँग छिमेकी र शान्तिपूर्ण सम्बन्ध चाहेको समेत स्पष्ट पारेका छन् । यसैबीच विद्रोही सेनाले सिरियामा रहेका हात हतियारलाई पुनः एकत्रित नगरोस् भन्दै इजरायलले राजधानी दमास्कसस्थित हातहतियार डिपोलक्षित आक्रमण गरेको जनाएको छ ।
यस्तै अमेरिकाको सेन्ट्रल कमाण्ड युनिटले मध्य सिरियामा इरान समर्थित आइएस समूहलक्षित हवाई आक्रमण गरेको बताइएको छ । राष्ट्रपतिको पतनपछि सिरियाली विस्थापित नागरिकहरु जोर्डन र लेबनानबाट पुन घर फर्किरहेका छन् । विश्वभर रहेका सिरियालीले उत्सव मनाइरहेका छन् । दुई साताको संघर्षपछि विद्रोही समूहले सिरियालाई आफ्नो नियन्त्रणमा लिएको हो । एजेन्सी