काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूले सेयरधनीहरुका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । आर्थिक वर्ष २०८०/८१ को मुनाफाका आधारमा हालसम्म ११ वाणिज्य बैंकले आफ्ना सेयरधनीहरूलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने योजना सार्वजनिक गरेका छन् ।
तीमध्ये स्टयान्डर्ड चार्टर्ड बैंकले २५.५० प्रतिशत लाभांश घोषणा गर्दै हालसम्म सबैभन्दा बढी लाभांश घोषणा गर्ने बैंकमा रहेको छ। बैंकले ६.५ प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ, जुन लगानीकर्ताका लागि निकै आकर्षक मानिएको छ । बैंकको बुक क्लोज मिति मंसिर १२ र साधारण सभा मंसिर १५ मा तोकिएको थियो ।
एभरेस्ट बैंकले १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । यसमा १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश समावेश छ । बैंकले असोज ८ मा बुक क्लोज गर्ने र असोज २० मा साधारण सभा सम्पन्न गरिसकेको छ । गत आर्थिक बर्षको मुनाफाबाट नेपाल एसबीआई बैंकले १०.६५ प्रतिशत लाभांश घोषणा गरेको छ । यसमा ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश रहेको छ ।
लाभांश वितरणमा हरहेक वर्ष सबैभन्दा अग्रस्थानमा रहँदै आएको नबिल बैंकले योपटक भने १० प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेको छ । बैंकले मंसिर १० गते बुक क्लोज मिति तोकेको छ भने साधारण सभा मंसिर २७ मा आयोजना हुनेछ । ग्लोबल आईएमई बैंकले ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस बैंकले मंसिर ६ मा बुक क्लोज गर्ने र मंसिर २७ मा साधारण सभा आयोजना गर्ने योजना बनाएको छ ।
यस्तै सानिमा बैंकले ५.२६ प्रतिशत नगद लाभांश मात्र घोषणा गरेको छ । बैंकको बुक क्लोज मिति कात्तिक २२ गते तोकिएको थियो भने साधारण सभा कात्तिक २८ मा सम्पन्न भईसकेको छ । लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
प्रभु बैंकले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकले मंसिर १९ मा बुक क्लोज मिति तोकेको छ भने साधारण सभा मंसिर २७ मा हुनेछ । सिटिजन्स बैंकले ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस बैंकले असोज २९ मा बुक क्लोज गरी र कात्तिक १२ मा साधारण सभा सम्पन्न गरिसकेको छ ।
सिद्धार्थ बैंकले भने ४ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेको छ । बैंकको मंसिर २१ मा बसेको सञ्चालक समितिको बैठकबाट यो निर्णय गरेको हो । यस वर्ष एनएमबी बैंकले भने लगानीकर्ताहरूलाई लाभांश नदिने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि मात्र लाभांश वितरण सुरु गरिने बैंकहरूले बताएका छन् ।
हालसम्म लाभांश घोषणा गरेका बैंकहरुमध्ये स्टान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा धेरै लाभांश घोषणा गरेर लगानीकर्ताको ध्यान तानेको भए पनि, अन्य बैंकहरूको लाभांश दरले मिश्रित प्रतिक्रिया पाएको छ । विभिन्न बैंकहरूले आफ्ना साधारण सभा र बुक क्लोज मिति तोकेसँगै लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ । यसले लगानीकर्ताहरूका लागि नयाँ रणनीति बनाउन र लगानीको सम्भावना पहिल्याउन महत्वपूर्ण प्रभाव पार्ने विश्वास गरिएको छ ।