कास्की । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासत बसाई थप लबिने भएको छ । लाछिानेलाई अनुसन्धानका लागि म्याद थप्न आइतबार अदालत लगिँदैछ ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान गर्न पछिल्लो पटक गत मंसिर ९ गते कास्की जिल्ला अदालतले १५ दिनको समय दिएको थियो । अदालतले दिएको समय शुक्रबार राति सकिए पनि हिजो (शनिबार) परेकाले लामिछानेलाई आज मात्रै अदालतमा पेश गर्न लागिएको हो । प्रहरीले आज अदालत खुल्ना साथ छैटौं पटक म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी गरेको छ ।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान बाँकी रहेकाले सरकारी वकील कार्यालयले थप समय माग्ने तयारी गरेको हो । अनुसन्धान अधिकारीलाई सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ ।
रविसँगै पूर्व प्रहरी डीआईजी छविलाल जोशी, रकम अपचलनमा सहयोग गरेको आरोपमा पक्राउ परेकी लीला पछाई, नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं शेयरधनी रामबहादुर खनाललाई पनि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । जोशी गोर्खा मिडियाका पूर्व उपाध्यक्ष हुन् ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रूपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक तथा प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । यता प्रहरीले गोर्खा मिडियाका संचालकहरू रवि, छवि र कुमार रम्तेल लगायतलाई पक्राउ पुर्जी जारी भएका बुटवल, चितवन, काठमाडौंमा बयान गराई पोखरा ल्याएको छ ।