काठमाडौं । भुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउँदै छन् । ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट उनी शुक्रबार बिहान काठमाडौं आउने भएका हुन् । भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक आज दिल्लीबाट काठमाडौं आउने भएका हुन् ।
काठमाडौं आएपछि उनी बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जाने छन् । भुटानी राजा वाङचुक १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं आउन लागेका हुन् । भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारी लगायत सदस्य रहेका छन् ।
भुटानका राजा नेपाल आउने भएसँगै गृह मन्त्रालयले उनका लागि उच्च सुरक्षा व्यवस्था कायम गरेको छ । उनका सुरक्षाका लागि तीनवटै सुरक्षा निकाय खटिने छन् । भुटानी राजा दर्शनका लागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । भुटानी राजा वाङचुक आज अपराह्न नै भुटान फर्कने छन् ।