काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई अन्तर्गतका परियोजनाबारे छुट्टै छलफल हुने बताएका छन् । चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले चीन भ्रमणको क्रममा भएका सम्झौता ऋणमा हुने गरी नगरिएको जानकारी दिए ।
ओलीले हरेक परियोजना कसरी कार्यान्वयन हुनेपछि छलफल हुने बताए । ‘ऋणसम्बन्धी कुनै कुरा चलेन । छलफल पनि भएन । बीआरआईबारे छलफल भयो । अहिले हामीले जे प्राप्त गरेका छौँं, त्यो ऋण होइन भन्ने कुरा धेरै पटक भनिएको छ । त्यो हुँदा पनि होइन । सधैँ किन ऋणको सारंगी बजिरहेको छ । होइन र छैन भनेर पटक–पटक भनेका छौं । ऋणसँग यो सरोकार राख्दैन,’ प्रधानमन्त्री ओलीले भने ।