काठमाडौं । काठमाडौंको कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बुधबार कीर्तिपुरबाट तीन जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
उनीहरूले विभिन्न एपको प्रयोग गरी सट्टेबाजी गरिरहेको पाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा भारतको विहारका सन्जयकुमार सिंह, रोहित शर्मा र प्रिंशु सिंह छन् । अहिले एनपीएलमा सट्टेबाजी तथा बेटिङ जस्ता आपराधिक क्रियाकलाप हुने भन्दै सिआइबीले कीर्तिपुरमा प्रहरी परिचालन गरेको थियो । त्यसक्रममा प्रहरीले यसअघि नै चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
यसअघि पक्राउ परेका सुमन धोष, अमित यादव, सुमन्त कुमार र ब्रजेश कुमार छन् । उनीहरूले स्पोर्ट्स बाजी, प्रोबो लगायत अनलाइन बेटिङ एपमार्फत कारोबार गरेको फेला परेको थियो । सीआइबीले उनीहरूमाथि सट्टेबाजी गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको हो । पछिल्लो समय एनपीएलमा बेटिङको प्रचारप्रसार गरेको भन्दै आलोचना हुँदै आएको छ ।