काठमाडौं । हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।
विभागका अनुसार आज (बिहीबार) दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
शुक्रबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । भोलि (शुक्रबार) दिउँसो र राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।
शनिबार दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भू–भागको मौसम भने मुख्यतया सफा रहने छ । शनिबार राति पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।