Logo

चक्रपथको अलपत्र दोस्रो खण्ड विस्तार : प्रधानमन्त्रीको भ्रमणबाट निकासको आशा, के भन्छन सरकारी अधिकारी ?

चक्रपथको अलपत्र दोस्रो खण्ड विस्तार : प्रधानमन्त्रीको भ्रमणबाट निकासको आशा, के भन्छन सरकारी अधिकारी ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीन भ्रमणमा जाँदैछन् । मंसिर २० सम्म हुने उनको चीन भ्रमणमा उनले चिनियाँ प्रधानमन्त्रीसँगै अन्य सरकारी उच्चपदस्थसँग भेट गर्नेछन् । नेपालमा चीनले अघि बढाएको अनुदानका र ऋणका दर्जनौं आयोजनाहरु के हुने भन्ने विषयमा प्रधानमन्त्रीको भ्रमणमा चर्चा होला कि नहोला भन्नेमा अहिले थप चासो बढेको छ । देशको संघीय राजधानीका काठमाडौंको सबैभन्दा बढी सवारी गुडने चक्रपथअन्तर्गतको दोस्रो खण्डको विस्तार पनि अहिले सबैको मुख्य चासोको विषय रहेको छ ।

करिव ५ बर्षदेखि विस्तृत परियोजना अध्ययन (डिपीआर) निर्माण गरिरहेको बताउँदै आएको चिनियाँ पक्षले हालसम्म पनि उक्त परियोजना अघि बढाउने प्रारम्भिक कामसम्म गर्न सकेको छैन । जसका कारण कलंकीदेखि महाराजगंजसम्म करीब साढे ८ किलोमिटर सडकखण्डमा ओहोरदोहोर गर्ने यात्रुले पछिल्ला ५ बर्षदेखि हिलो र धुलोको कहर झेल्दै आउनुपरेको छ । त्यतिमात्रै होईन त्यो सडक आसपास पसल थापेर बसेका पसले, घर बनाएर बसेका नागरिकहरु पनि उत्तिकै प्रताडित छन् । चीन सरकारको करिव ६ अर्ब अनुदानमा निर्माण हुने उक्त आयोजना खासगरी ५ बर्षअघि नै निर्माण सम्पन्न गर्नेगरी काम गर्ने चिनियाँ पक्षले बताएको थियो ।

यसअघि २०७५ सालमा पहिलो खण्ड कोटेश्वरदेखि कलंकीसम्म निर्माण सम्पन्न गरेर दोस्रो खण्डको साइट क्लियर गर्न आग्रह गर्दै चिनियाँ ठेकेदारसहितको टोली चीन फर्केको थियो । यसबीचमा कोरोना महामारीलगायतका कारण देखाउँदै करिव डेढ बर्ष अघिमात्रै उक्त क्षेत्रको साइट क्लियरको काम नेपाली पक्षले सम्पन्न गरेको थियो । पहिलो खण्डमा साइट क्लियर नगरीकनै काम सुरु गरेको चिनियाँ पक्षले काममा बाधा झेल्नुपरेपछि दोस्रो खण्डको साइट क्लियर गर्ने जिम्मा नेपाली पक्षलाई दिएर चीन फर्कको थियो ।

सोहीअनुसार नेपाली पक्षले हालसम्म सडकको ३१ मिटर क्षेत्रमा पर्ने सबै संरचना हटाईसकेको छ । अर्थात साइट क्लियरको काम सम्पन्न भइसकेको पनि करिव २ बर्ष बित्न लाग्दासम्म पनि वास्ता नगरेको चिनियाँ पक्षलाई यसपल्ट प्रधानमन्त्रीको चीन भ्रमणले केहि सहजीकरण गर्ने आशा गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताए । ‘लामो समय भयो हामीले चिनियाँ दूतावासमै सम्पर्क गर्न खोजेको हाल हामीले सम्पर्क गर्ने व्यक्ति नै भेटिन गाह्रो भयो,’ उनले भने, ‘यसपटकको प्रधानमन्त्रीको भ्रमणले केही सहजीकरण होला कि ?’ नेपाली पक्षले चक्रपथ दोस्रो खण्डको सबै क्षेत्रमा साइट क्लियर गरिसकेपछि चिनियाँ पक्षले काम सुरु गर्नुपर्ने भएपनि हालसम्म मौन रहेको चिनियाँ पक्ष नयाँ सरकार बनेसँगै भने केहि सक्रिय देखिएको थियो ।

तर, पुनः चिनियाँ पक्ष नै सम्पर्कविहिन भएको सडक विभागका महानिर्देशक रामहरी पोख्रेलले बिजखबरलाई बताए । ‘महानगरको किचलो, नागरिकले पाएको सास्तीलगायतका कारण उक्त सडककै कारण हाम्रोसमेत साख गिरिसकेको छ’, उनले भने, ‘यसैलाई मध्येनजर गर्दै हामीले आफै चिनियाँ दूतावासमा आग्रह गर्ने गरेका छौं ।’ प्रत्येक महिनाको एकपटक दूतावासमै सम्पर्क गर्ने गरिएको तरपनि हालसम्म चिनियाँ पक्ष मौन रहेको उनले बताए । ‘यो अनुदानकै आयोजना भएकाले होला चिनियाँ पक्षलाई पनि धेरै कुराहरु मिलाउनु पर्नेरहेछ’ उनले भने, ‘ऋणको परियोजना भएको भए चाँडो हुन्थ्यो होला तर यो अनुदानको पर्याे ।’

एक महिना अघिसम्म चिनियाँ दूतावासमा सम्पर्क गर्नेबेलामा अबको केहि समयमै काम सुरु हुने बताउँदै आएको दूतावासमा अब सम्पर्क व्यक्ति नै भेटाउन मुश्किल भएको उनले बताए । ‘केहि समय पहिले त हामीले एक देखि दुई महिनाभित्र काम सुरु हुन्छ भन्ने आश्वासन पाउँदै आएका थियौं,’ उनले भने, ‘अब त्यो भन्ने अधिकारी नै सम्पर्कमा हुनुहुन्न ।’ प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै गर्दा नारायण्गढ बुटवल सडक, चक्रपथ दोस्रो खण्ड, अन्य केहि जलविद्युत आयोजनामा भईरहेको ढिलाईका बारेमा जानकारी गराई निकास खोज्ने काम हुनसक्ने अधिकारीहरु बताउँछन् ।

चिनियाँ राजदूतसहितको टोलीले तत्कालीन भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई भेट्दै चक्रपथको काम चाँडै सुरु गर्ने प्रतिवद्धता जाहेर गरेको थियो । करिव ५ बर्षसम्म नै अलपत्र पारिएको कलंकीदेखि बसुन्धारासम्मको उक्त खण्ड हालसम्म पनि अलपत्र नै छ । तर, चिनियाँ पक्षले त्यसबेला तीव्रता दिने बताएपनि नेपाली पक्षलाई पछिल्लो समय भने अवज्ञा गरिरहेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्