काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पाउने भएको छ ।एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले एककरोड ११ लाख रुपैयाँ पाउने जानकारी गराइएको हो।
प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सिंगल राउन्ड रोबिनका आधारमा हुने एनपीएलमा लिग चरणमा कुल २८ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । जहाँ पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर खेल हुनेछ । यस खेलको विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ भने तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल खेल्ने छन् ।
एलिमिनेटरमा पराजित हुने टोली बाहिरिँदा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ । यसको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । एनपीएलको फाइनल खेल पुस ६ गते हुनेछ ।