काठमाडौं । सागर ढकालले स्टक ब्रोकर एशोसिएशनको अध्यक्षमा सर्वसम्मतिमा चयन हुनका लागि पहल अघि बढाएका छन् । उक्त एशोसिएशनको अध्यक्षमा सर्वसम्मतिमा चयन हुनका लागि उनले पुँजी तथा वित्त बजार संघबाट समेत राजिनामा दिएका छन् ।
स्टक ब्रोकर एशोसिएशनमा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने विषयमा लामो समयदेखि छलफल चल्दै आएको थियो । विशेषगरी धितोपत्र ब्रोकर एशोसिएशन नेपाल र स्टक ब्रोकर एशोसिएशन नेपालबीच एक आपसमा मर्जर भएसँगै नयाँ नेतृत्वको चयन प्रक्रिया अघि बढेको थियो । जसका लागि यही मंसिर २० र २१ गतेका लागि अधिवेशनको मिति समेत तय भैसकेको छ ।
लामो छलफल पश्चात स्टक ब्रोकर एशोसिएशनका पूर्व अध्यक्षहरुले पुँजी तथा वित्त बजार संघको अध्यक्षबाट राजिनामा दिएर सर्वसम्मतिमा स्टक ब्रोकर एशोसिएशनको अध्यक्ष हुन आग्रह गरेसँगै उनले राजिनामा दिएका हुन् । ‘अहिले हाम्रो एजेन्डा को अध्यक्ष बन्ने भन्दा पनि काम गर्न सक्ने व्यक्तिलाई नेतृत्वमा अघि बढाएर व्यवसायीका हकहितका विषयमा सरकारसँग लबिङ गर्नु हो,’ एक पूर्व अध्यक्षले भने, ‘सोही अनुरूप सागर ढकाललाई यसअघि जिम्मेवारीमा रहेका संघबाट राजीनामा दिन लगाएर एसोसिएसनको नेतृत्व सम्हाल्न आग्रह गरेका है ।’
पुँजी बजारमा २ दशकदेखि सक्रिय सागर ढकालले आफ्नै नेतत्वमा नयाँ ब्रोकरको लाईसेन्स खुला गर्नेदेखि नयाँ स्टक एक्स्चेञ्जको लाईसेन्स खुलाउनका लागि पहल गरेका थिए । सोही अनुरुप सर्वोच्च अदालतले ब्रोकर तथा नयाँ स्टकको लाईसेन्स वितरणका लागि बाटो खुला गरिदिएको थियो । ब्रोकरको नयाँ लाईसेन्स खुला भएसँगै उनले हिमालयन ब्रोकरेज लि संचालनमा ल्याएका हुन् । हिमालयन ब्रोकरेजको अध्यक्ष समेत रहेका ढकालले आफ्नै नेतृत्वमा धितोपत्र ब्रोकर एशोसिएशन स्थापना गरेका थिए । तर अबका दिनमा सबै ब्रोकर एक भएर लगानीकर्ता तथा व्यवसायीक हक हितका लागि एक भएर सरकारसँग लविङ गर्नुपर्ने भन्दै दुई संस्थालाई एक आपसमा मर्ज गराएका थिए । दुबै संस्था एक भएसँगै लामो छलफल पश्चात ढकालको अध्यक्षतामा सर्वसम्मतिमा नेतृत्व चयन गर्न लागेको स्टक ब्रोकर एशोसिएशन स्रोतले जानकारी दिएको छ ।
ढकालले आफु एशोसिएशनको अध्यक्षमा आउने भएसँगै उनले दैनिक जसो नयाँ तथा पुराना ब्रोकरहरुसँग हाल बजारमा देखिएको समस्या र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा छलफल गर्दैै आएका छन् । उनले बिहीबार नयाँ लाईसेन्स लिएका ४३ ओटा ब्रोकरसँग अन्तरक्रिया कार्यक्रम गरेर आगामी दिनमा नेतृत्वले गर्नुपर्ने कामका विषयमा सुझाव संकलन गरेका थिए। शुक्रबार पहिलो चरणमा लाईसेन्स लिएका २३ वटा ब्रोकरसँग छलफल तथा नेटवोर्किङ कार्यक्रम राखेका छन् । त्यस्तै दोस्रो चरणमा लाईसेन्स लिएका २७ वटा ब्रोकरसँग पनि छलफल तथा सुझाव संकलन गर्ने कार्यक्रम रहेको ढकाल सम्बद्ध स्रोतले जानकारी दिएको छ ।