Logo

सहकारी ठगी प्रकरण : काठमाडौं ल्याइएका रविको बयान आजबाट

सहकारी ठगी प्रकरण : काठमाडौं ल्याइएका रविको बयान आजबाट



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेसँग शुक्रबारबाटै बयान लिइने भएको छ ।

ठगीमा नाम जोडिएपछि अनुसन्धान गर्न भन्दै उनलाई बिहीबार साँझ पोखराबाट बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको हो । प्रहरीले स्कर्टिङ गर्दै भद्रकाली पु¥याएर उनलाई हिरासतमा राखिएको छ । उनलाई हिरासतको भीआईपी कक्षमा राखिएको स्रोतले जानकारी दिएको छ ।

यसअघि मानव बेचबिखन तथा ओसारपसारको कसुरमा पक्राउ परेका एमाले नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी उक्त कक्षमा बसेका थिए । सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई काठमाडौंमा पनि बयानको तयारी भएको हो ।

सोही मुद्दामा पूर्व डीआईजी छविलाल जोशी र कुमार रम्तेलसँग भने बयान लिइसकिएको छ । काठमाडौं विमानस्थलबाट लैजाने क्रममा रास्वपा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनलाई यसअघि बुटवलमा पनि सहकारी ठगी प्रकरणमा बयान लिइएको थियो । रविविरुद्ध पाँच वटा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
उनलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सो सहकारीको रकम अपचलनबारे पूर्व डीआईजी छविलाल जोशीसँग प्रहरीले बयान लिइसकेको छ । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्