काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्यान्ह त्यसतर्फ प्रस्थान गरेकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि राणाको यो पहिलो चीन भ्रमण हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले उनलाई बिदाइ गरेका छन् ।
भ्रमणका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु शहरमा हुनेछ । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरुप उनी चीन गएकी हुन् । प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीन भ्रमणमा जाँदैछन् ।
परराष्ट्रमन्त्री डा राणा शनिबार नेपाल फर्किएर पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यक्रम तय भएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले बीआरआई अनुदानमा सम्झौता हुने बताएकी छिन् । आज चीन प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले बीआरआई सम्झौतामा लिने विषयमा कांग्रेस–एमाले एकसाथ रहेको बताएकी हुन् । कांग्रेस–एमालेबीच मतभिन्नता छ भन्ने मिडियाले सिर्जना गरेको उनले टिप्पणी गरिन् ।