Logo

आईपीएल अर्थात पैसाको बाढी : १८२ खेलाडीमा सवा १० अर्ब खर्च, नेपालीले पाएनन अवसर

आईपीएल अर्थात पैसाको बाढी : १८२ खेलाडीमा सवा १० अर्ब खर्च, नेपालीले पाएनन अवसर



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सिजन शुरु हुनुअघि साउदी अरेबियाको जेद्दाहमा दुईदिने मेगा अक्सन सम्पन्न भएको छ । जहाँ आईपीएलका १० प्रतिस्पर्धी टीमहरुले पैसाको खोलो बगाए । मेगा अक्सनमा १० टोलीले कुल ६३९.१५ करोड भारतीय रुपैयाँ (१० अर्ब २४ करोड नेपाली रुपैयाँ) खर्च गरेका छन् ।

अक्सनमा भारतका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त इन्डियन प्रिमियर लिगको पहिलो दिन डिफेन्डिङ च्याम्पियन केकेआरका कप्तान श्रेयस अय्यरलाई पछि पार्दै सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई लखनऊ सुपर जायन्ट्सले २७ करोड भारुमा किनेको थियो तर भेंकटेश अय्यरले अप्रत्याशित रूपमा ठूलो रकम पाए । यस वर्ष कोलकाता नाइट राइडर्सलाई आईपीएलको उपाधि दिलाएका कप्तान श्रेयस अय्यर २६ करोड ७५ लाख भारुमा पञ्जाब किंग्समा आबद्ध भएका छन् ।

पन्तका लागि सनराइजर्स हैदरावाद र लखनउबीच कडा प्रतिस्पर्धा भएको थियो । दिल्ली क्यापिटल्सले पहिले २० करोड ७५ लाख रुपैयाँमा ‘राइट टु म्याच’ प्रयोग गरेको थियो तर लखनउले २७ करोडको अन्तिम बोली लगाएपछि दिल्लीको टोली पछि हट्यो । केकेआरमा रहेका वेंकटेशलाई फेरि त्यही टोलीले २३ करोड ७५ लाखमा किनेको थियो । उनको लागि केकेआर र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा भएको थियो ।

श्रेयस अय्यरलाई पञ्जाब किंग्सले २६ करोड ७५ लाखमा किनेको थियो । अय्यरका लागि दिल्ली क्यापिटल्स र पञ्जाबबीच लामो समयसम्म प्रतिस्पर्धा चलेको थियो तर अन्त्यमा पञ्जाब विजयी भयो । दोस्रो दिन स्विङका सुल्तान भनेर चिनिने भुवनेश्वर कुमार सबैभन्दा महँगो भए । आरसीबीले उनलाई १०.७५ करोडमा किनेको थियो । दुई दिनसम्म चलेको लिलामीमा कुल १८२ खेलाडी बिक्री भएको थियो जसमा ६२ विदेशी थिए ।

यसपटकको अक्सनमा भारतीय खेलाडीमा सबैभन्दा बढी पैसाको वर्षा भएको थियो । विक्री भएका कुल १८२ खेलाडीमध्ये १२० जना भारतका थिए । उनीहरुमा सबैभन्दा बढी ३८३.४ करोड भारतीय रुपैयाँ खर्च भएको छ । जसमा १२ भारतीय खेलाडीले १० करोड रुपैयाँभन्दा बढी मूल्य पाएका थिए।

यस आईपीएल लिलामीमा इंग्ल्याण्डका १२ खेलाडी बिक्री भएका थिए । उनीहरुमा खर्च भएको रकम अष्ट्रेलियाका खेलाडीको भन्दा बढी थियो । तिनीहरूमा कुल ७०.२५ करोड रुपैयाँ खर्च भएको थियो । यस आईपीएल लिलामीमा जम्मा १३ अस्ट्रेलियाली क्रिकेटर बिकेका थिए । उनीहरुमा ६६.७ करोड रुपैयाँ बिक्री भएको थियो । अष्ट्रेलियाका तीन खेलाडीले १० करोडभन्दा बढी मूल्य पाएका छन् ।

टी–२० विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिकी टोलीका १४ खेलाडी बिक्री भएका छन् । उनीहरुमा जम्मा ४७.५ करोड रुपैयाँ खर्च भएको थियो । दक्षिण अफ्रिकाबाट एउटै खेलाडीलाई १० करोडभन्दा बढी रकम दिइएको थियो ।

आईपीएल २०२५ को लिलामीमा न्युजिल्याण्डका ७ खेलाडी बिक्रि भएका छन् । फ्रेन्चाइजले किवी खेलाडीका लागि २९.०५ करोड रुपैयाँ खर्च गरेको छ । उनीहरुको एक खेलाडी १० करोडभन्दा बढीमा बिक्री भएको थियो । अफगानिस्तानका ६ खेलाडीको बिडिङ भएको थियो । उनलाई २१.९५ करोडमा किनिएको थियो । एक खेलाडीलाई १० करोडभन्दा बढी रकम दिइएको थियो ।

यस आईपीएल लिलामीमा श्रीलंकाका ६ खेलाडी मात्रै बिक्रि भएका थिए । उनीहरुका लागि १३.९५ करोड रुपैयाँ खर्च भएको थियो । तर, कुनै पनि खेलाडीले १० करोडभन्दा बढी पाएनन् । यस्तै टी–२० क्रिकेटमा वेस्ट इन्डिजका खेलाडीहरुको दबदबा भएपनि यसपटक लिलामीमा वेस्ट इन्डिजका चार खेलाडी मात्रै बिकेका छन् । उनीहरुका लागि कुल ६.३५ करोड रुपैयाँ खर्च भएको थियो । भारतको सबैभन्दा नजिकको छिमेकी भएपनि आइपीएलमा कुनै पनि नेपाली खेलाडीले अवसर पाएनन् ।

प्रतिक्रिया दिनुहोस्