काठमाडौं । चालू आर्थिक बर्ष(२०८१/०८२) मा सरकार वैदेशिक लगानी प्रतिबद्धताको लक्ष्य पूरा हुनेमा ढुक्क देखिएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवमा विभागले ४४ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता ल्याउने लक्ष्य लिएको छ । जसमध्ये पहिलो त्रैमासमा सरकारी लक्ष्यको ३७ प्रतिशत लगानी प्रतिवद्धता आइसकेको विभागले जानकारी दिएको छ ।
चालू आवको पहिलो त्रैमास, साउनदेखि असोजसम्म १६ अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । खासगरी सरकारले हरेक बर्ष आफुमातहतका हरेक निकायलाई अघिल्लो बर्षको तुलनामा सुधार गर्न विभिन्न थ्रेसहोल्ड तोकिदिने गर्दछ । उक्त निकायहरुले थ्रेसहोल्डसम्म पुग्नका लागि आन्तरिक स्रोतको परिचालन गर्दै लक्ष्य निर्धारण गर्छन र सोहीअनुसार सहजीकरण र योजनाहरु अघि बढाउने गरिन्छ ।यसपटक पनि सोहीअनुसार विभागले लक्ष्य निर्धारण गरेको थियो । जसमा हालसम्म उल्लखनीय उपलब्धि देखिएको विभागका सूचना अधिकारी अर्जुनसेन ओली बताउँछन् ।
पहिलो त्रैमासमा विदेशी लगानीकर्ताहरुले १६ अर्ब ५५ करोड रुपैयाँ बराबरका १ सय ३३ परियोजना नेपालमा दर्ता गरेका छन् । विभागको तथ्यांकलाई आधार मान्दा गत बैशाखबाट संचालनमा ल्याइएको स्वचालित मार्गबाट मात्रै विदेशी लगानीकर्ताहरुले ७३ परियोजनामा लगानीको इच्छा जाहेर गरेका छन् । यी सबै परियोजनामार्फत ३ हजार ८ सय ४५ जनाले रोजगारी पाउने देखिन्छ । चालु आर्थिक बर्षको लक्ष्यअनुसार नै विभागमा उद्योगहरु दर्ता भईरहेको विभागका सूचना अधिकारी ओली बताउँछन् । ‘हामीले लिएको लक्ष्यअनुसार नै उद्योगहरु दर्ता हुने क्रम जारी छ,’ उनले भने, ‘यो त बर्षको सुरुवात हो,अझै उद्योगहरु थपिँदै जाने हुनाले यो बर्ष लक्ष्यभन्दा बढी संख्यामा लगानी आउने निश्चित छ ।’
विदेशी लगानी भित्र्याउन विभागले पछिल्लो समय गरेको कानुनी सहजताका कारण लगानी भनेबमोजिमकै आइरहेको उनको भनाई छ । यता स्वदेशी लगानीतर्फ पनि पहिलो त्रैमासमा लगानीकर्ताहरुले ३३ अर्ब बढीको लगानी प्रस्ताव गरेका छन् । तथ्यांकअनुसार नेपालमा उद्योगीहरुले १ सय ९९ परियोजनामा ३३ अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेका हुन् ।
विभागका अनुसार यस अवधिसम्म आएको कुल लगानी प्रस्तावमध्ये स्वदेशी लगानीकर्ताहरुले ११ वटा ठुला, १० मझौला र १ सय ७८ साना परियोजनामा लगानीका लागि इच्छा देखाएका हुन् । सरकारले चालु आर्थिक बर्षमा कुल ५५ ठुला ५० मझौला र २ सय साना उद्योग दर्ता गर्नुपर्ने लक्ष्य राखेको छ । तर, आवको पहिलो त्रैमासमै विभागमा ठुला र साना समान २० प्रतिशत परियोजना दर्ता भएपनि साना परियोजना भने झण्डै ९० प्रतिशतको हाराहारीमा दर्ता भईसकेका छन् । यसै अवधिमा विभागमा दर्ता भएका उद्योगहरुमार्फत ९ हजार ६ सय ६८ जनाले रोजगारी पाउने विभागले जानकारी दिएको छ । यस अवधिमा प्याटेन्ट र डिजाइन दर्ता भने शुन्य छ ।