काठमाडौं । पोखरा जेसीजको ४५औं शाखा अधिवेशन तथा ५०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा जेसीजका अध्यक्ष देवराज शर्माको अध्यक्षतामा पोखरा (लेकसाइडस्थित क्रिस्टल महल) मा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
‘दिगो विकासका लागि युवा नेतृत्व’ विषयमा आयोजित विचार गोष्ठीमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा अष्ट्रेलियाका लागि नेपाली पूर्व राजदूत महेशराज दाहालले कार्यपत्र प्रस्तुत गरेका छन् ।
कार्यक्रममा चन्द्र भण्डारी र पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक मामिला सल्लाहकार युवराज खतिवडाले आफ्नो विचार राख्दै दिगो विकासमा युवा नेतृत्वको भूमिकामाथि चर्चा गरे।
महेशराज दाहालले नेतृत्व उमेरले मात्रै होइन, सोच, इच्छाशक्ति र स्पष्टताले निर्धारण हुने बताउँदै युवाहरूले समाजलाई नयाँ दिशा दिनसक्ने उल्लेख गरे। चन्द्र भण्डारीले नेतृत्व परिवर्तनले दिगो विकासको आधार निर्माण हुने दाबी गर्दै युवाहरूले आफ्ना आवश्यकताअनुसार विकासलाई तीव्रता दिने बताए।
युवराज खतिवडाले दिगो विकासका लागि समाजमा रहेको गरिबी हटाउन जोड दिए। उनले युवाहरूको विदेश पलायनको मुख्य कारण आयआर्जन भएकाले गरिबी निवारण र आर्थिक सुधारले मात्र दिगो विकास सम्भव हुने तर्क गरे।
कार्यक्रममा पोखरा जेसीजका पूर्व अध्यक्षहरू, सदस्यहरू, र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू गरी २५० जना सहभागी भएका थिए। कार्यक्रम सञ्चालन पोखरा जेसीजका प्रकरण निर्देशक विजय बरालले गरेका थिए भने महासचिव तिलक प्रसाद लामिछानेले सहभागिता र सफलता विवरण दिए।
युवा नेतृत्वद्वारा दिगो विकासको सोच अघि बढाउन यस कार्यक्रमले महत्वपूर्ण सन्देश दिएको छ।