Logo

कृषिमन्त्री अधिकारी भन्छन–डीडीसीलाई ऋणबाट मुक्त गरी सुधार गर्न प्रयास गर्दैछु

कृषिमन्त्री अधिकारी भन्छन–डीडीसीलाई ऋणबाट मुक्त गरी सुधार गर्न प्रयास गर्दैछु



काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डीडीसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरीरहेको बताएका छन् ।

आज मन्त्रालयमा राष्ट्रिय किसान सञ्जालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डीडीसीको उत्पादनको खपत बढाउन व्यक्तिगत तबरबाट समेत आफूले विभिन्न प्रयास गरिरहेको भन्दै यसको नतिजा चाँडै देखिने बताए । विगतदेखि नै डीडीसीमा बेथिति रहेको र यसलाई अन्त्य गर्न केही समय लाग्ने र यसका लागि आफ्नो पहल रहेको मन्त्री अधिकारले उल्लेख गरे ।

यो समयमा डीडीसीले दूध खरिदमा विगत देखि नै कोटा निर्धारण गर्ने गरेको जानकारी आफूलाई आएको भए पनि किसानलाई निरास पार्न नहुनेमा मन्त्रालयको जोड रहेको मन्त्री अधिकारीले बताए । सरकारले अण्डा र मासुमा आत्मनिर्भर भए जस्तै दूधमा पनि आत्मनिर्भरको विषय उठाउँदै गर्दा किसानको दूध खरीद नगर्ने भन्ने कुरा हुन नसक्ने बताए ।

केही सञ्चार माध्यममा किसानको दूध सरकारी संस्थानले नकिनेको विषय आए पनि दूध बिक्री नभएको गुनासो किसानमार्फत नआएको उनले दाबी गरे । यस विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र केही दिनमा यथार्थ बाहिर ल्याउने पनि बताए । ज्ञापन पत्र बुझाउँदै सञ्जालले दूध, उखु, सुपारीलगायत अहिलेका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्