काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तय भएको आजको अन्तर्वार्ता सम्पन्न भएको छ । आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग आज बिहान ८ बजे पुनः अन्तर्वार्ता लिन मिति तय गरिएको थियो ।
अध्यक्ष सिफारिस समितिले नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई आज अन्तर्वार्ता प्रस्तुतीकरणका निम्ति बोलाएको थियो । जसमा अर्थ मन्त्रालयमा भएको अन्तर्वार्तामा कार्की र अधिकारी सहभागी भएको र उनीहरुको अन्तर्वार्ता सम्पन्न भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । तर, अन्तर्वार्तामा अर्का उममेदवार चिरञ्जीवी चापागाईँ भने सहभागी नभएको स्रोतले बतायो । उनी किन सहभागी भएनन भन्नेबारे भने स्रोतले जानकारी नरहेको बताएको छ ।
असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएकोमा आजको अन्तर्वार्ता के हुने भन्ने आशंका भएपनि आज भने दुईजनाको अन्तर्वार्ता भएसँगै अब बोर्ड अध्यक्ष नियुक्ति निष्कर्षमा पुग्ने देखिएको छ । गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
यसअघि गत असारमा अध्यक्ष चयन गर्न गठित समितिले सर्टलिस्टमा परेका ५ जनामध्ये २ जना मात्रै अन्तरवार्तामा उपस्थित भएको र सिफारिस गर्न ३ जना आवश्यक भएकाले उक्त प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो ।
समितिको उक्त निर्णयविरुद्ध सर्टलिस्टमा परेर अन्तरवार्ताका लागि पनि उपस्थित भईसकेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वाैच्च अदालतले अध्यक्ष छनोटको प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले सर्टलिस्टमा परेका ५ जनालाई असार २ गतेका लागि लागि अन्तर्वार्ता र प्रस्तुतिकरणमा बोलाएपनि २ जना मात्रै उपस्थित भएका थिए । बाँकी रहेका ३ जनालाई पुनः अन्तरवार्ताका लागि असार ५ गते बोलाईएपनि उनिहरुले सोही दिन पनि अन्तरवार्ता र प्रस्तुतिकरण बहिस्कार गरेका थिए ।
त्यसपश्चात पुनः असाेज १८ गते अन्तरवार्तामा बाेलाइएकाे थियाे । त्यसबेला पनि पुरानै प्रवृत्ति दाेहाेरिएकाे थियाे । यसरी तिनै पटकको अन्तरवार्तामा अनुपस्थित भएपछि समितिले मन्त्रिपरिषदलाई ३ जनाको नाम सिफारिस नै गर्न पाएको थिएन । धितोपत्र सम्बधि ऐनमा छनोट समितिले ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर, ५ जनामध्ये दुई जना मात्रै अन्तरवार्तामा उपस्थित भएपछि समितिले महान्याधिवक्ताको कार्यालयसँग सुझाव माग गरेको थियो । तर, कार्यालयले पनि २ जनाको नाम मात्रै सिफारिस गर्न नहुने सुझाव दिएपछि उक्त प्रक्रिया नै रद्द गरेको थियो ।
बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । जसमध्ये अन्तिम ५ जनामा सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, नेपाल बीमा समिति (हाल बीमा प्राधिकरण)का पूर्व अध्यक्ष चिरञ्जीवी चापागाँई र धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीको नाम छनोट भएको थियो । यीनै ५ जनाबाट छनौट समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने थियो ।
जसमध्येबाट १ जना बोर्ड अध्यक्षमा नियुक्त हुने प्रावधान थियो । तर, छनोट समितिले बोलाएको प्रस्तुतीकरणमै ३ जना उपस्थित नभएपछि बोर्डको अध्यक्ष छनोट प्रक्रिया नै स्थगित भएका थियो । गत पुस २२ गते बोर्डका तत्कालिन अध्यक्ष रमेश हमाल कार्यकालका कारण बाहिरिएसँगै हालसम्म उक्त पद रिक्त रहेको छ ।