काठमाडौं । धरहरा चढ्नका लागि आज (आइतबार) देखि शुल्क तिर्नुपर्ने भएको छ । स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ । यसका साथै, सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५०० रुपैयाँ र सार्क बाहेक राष्ट्रका पर्यटकलाई एक हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ अनुसार, यो शुल्क संरचनामा परिवर्तन भएको हो । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्न शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । यसका अतिरिक्त, धरहरा परिसरमा पार्किङ शुल्क पनि तोकिएको छ । चार पाङ्ग्रेलाई प्रति घण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ शुल्क तोकिएको छ ।
धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न र व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार रुपैयाँ शुल्क लाग्नेछ । त्यस्तै सामान्य फोटोग्राफीका लागि प्रति घण्टा एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । सरकारले संविधान दिवसका अवसरमा गत ३ असोजदेखि परीक्षणका रूपमा धरहरालाई निःशुल्क गरेको थियो ।