काठमाडौं । भूकम्पले भत्किएको डेढ बर्ष वितिसक्दा पनि धरहरा पूर्ननिर्माणको काम शुरु हुन सकेको छैन । ३ वर्ष भित्र धरहरा निर्माणको लक्ष्य लिएपनि हालसम्म निर्माणकार्य शुरु हुन सकेको छैन ।
धरहरा निर्माणको सम्बन्धमा भएको टेन्डर विवादले गर्दा काम अघि बढ्न नसकेको पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले जानकारी दिए । ‘नयाँ बन्ने धरहराको आर्किटेक्ट डिजाइन समेत तयार भइसकेको छ,’ उनले भने, ‘तर, टेण्डर प्रक्रियामै विवाद हुँदा हालसम्म काम अघि बढ्न सकेको छैन ।’
शुरुमा धरहराको पुनर्निमाण पहिला रहेको जग्गामा नै गरिने भनिएको थियो । तर, पछि गोस्वारा हुलाक र टक्सारको जग्गामा पनि बनाउने निणर्य भएको हो । धरहरा रहेको ६ रोपनी र हुलाक तथा टक्सारको गरी करिव ४२ रोपनी जग्गामा धरहरा बन्ने भएपछि टेण्डरमा विवाद भएको हो । पहिला ६ रोपनी जग्गामा कम रकममा टेण्डर आह्बान गर्न गुरु योजना बनाएको र पछि जग्गाको क्षेत्रफल बढेर ४२ रोपनी पुग्दा विवाद भएको हो ।
हाल धरहरा पुनर्निणको फाइल मन्त्रिपरिषदमा पुगेर अड्कीएको छ मन्त्रालयका प्रवक्ता घनशयाम उपाध्ययाले जानकारी दिए । मन्त्रालयले १ हप्ता अघि सो फाइल मन्त्रिपरिषदमा पेस गरेको थियो हो । तर फाइल स्वीकृत नहुँदा हालसम्म काम अघि बढ्न सकेको छैन । मन्त्रिपरिषदले फाइल स्वीकृत गर्ना साथ पुरातत्व विभागले पूननिर्माण शुरु गर्ने बताएको छ ।
गोस्वारा हुलाक र टक्सारको जग्गा सहित ४२ रोपनीमा बनाउन लागिएको हो सो धरहरा पुननिर्माणमा नेपाल टेलिकमले आर्थिक जिम्मेवारी वहन गर्ने इच्छा राखेको छ । साथै, मेरो धरहरा मै बनाउछु अभियानमा अन्तरगत पनि २ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ । धरहरा पूननिर्माणका लागि निजी कमपनीहरुले इच्छा देखाएका छन् ।
कस्तो बन्ने छ नयाँ धरहरा ?
नयाँ बन्ने भनिएको धरहरामा छुट्टै म्यूजिएम बनाइने छ । जहाँ पुरानो सिक्का छाप्ने मेसिन राखिने छ । सो म्यूजियममा जाने बाटोमा ५० फिट अग्लो पानीको फोहोरा समेत राखिने छ । धरहरा २ सय ४५ फिटको बनाइने छ । १० औं तलामा राखिने मिनी थिएटरबाट धरहराको इतिहासबारे भिडियो देखाइने छ । त्यस्तै पारदर्शी लिफ्टको प्रयोग हुने छ भने धरहरामा १ सय ४३ ओटा गाडी पार्क गर्न मिल्ने पार्किङ बनाइने छ ।
,