काठमाडौं । बढ्दो रेमिटयान्स र घट्दो आयातका कारण पछिल्लो समय विदेशी मुद्रा संचिती तथा सोधनान्तर स्थितिमा उच्च सुधार देखिएको छ । लामो समययता वैदेशिक रोजगारीमा गएको कामदारले पठाएको रेमिटयान्सले आयात धान्दै आएको नेपालले पछिल्लो समय आयातमा संकुचन आउँदा विदेशी मुद्रा संचिती र भुक्तानी सन्तुलनमा सकारात्मक प्रभाव देखिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असोज मसान्तसम्ममा विदेशी मुद्रा संचिती २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब रहेको विदेशी मुद्रा संचिती पछिल्लो ३ महिनामा ९.४ प्रतिशतले वृद्धि हुन पुगेको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १९ खर्ब ८८ अर्ब पुगेको छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ । विस २०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को ३ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति बढेर १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोडले बचतमा रहेको थियो । तर, जसरी आयात घटेको छ त्यसको देशको अर्थतन्त्र चलायमान बनाउन कठिन हुने सम्बद्ध अर्थविद्हरु बताउँछन् । ‘लामो समयदेखि नेपालले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाएर त्यसबाट आएको रेमिटान्सबाट बस्तु तथा सेवा खरिद गर्दै देश संचालन गर्दै आएको थियो,’ एक अर्थविद्ले भने, ‘तर अहिले पनि कामदार वैदेशिक रोजगारीमा जान रोकिएको छैन भने आयात चाहिँ एकदमै ओरालो लाग्दो क्रममा छ ।’ नेपालजस्तो बस्तु तथा सेवा आयातबाट भन्सार तथा कर राजस्व संकलन गरेर राज्य संचालन गर्ने मुलुकमा त्यसरी आयात घट्दा अबका दिनमा नकारात्मक असर पर्ने ती अर्थविद्को भनाई छ ।
पछिल्लो समय फलफुल तथा खाद्यान्नजस्ता आयातभन्दा पनि औद्योगिक कच्चा पदार्थको आयात खुम्चिदा त्यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने सम्बद्ध उद्योगी व्यवसायीहरु बताउँछन् । ‘अहिले उद्योगका लागि आवश्यक मेशिन लगायतका कच्चा पदार्थमा उच्च गिरावट आएको छ,’ एक उद्योगीले भने, ‘जसको ठूलो असर देशको कुल ग्राह्स्थ्य उत्पादनमा पर्नेछ ।’ साथै अन्य खाद्यान्नलगायत बस्तुको आयातमा गिरावट आउँदा राज्यले लिएको लक्ष्यअनुसार राजस्व संकलन समेत हुन नसक्ने देखिन्छ ।