काठमाडौं । नेपाली उद्योगी व्यवसायीले सेयर बजारलाई आफ्नो स्वार्थअनुरुप उपयोग गर्दा सर्वसाधारण जोखिममा पर्ने देखिएको छ । अहिले उद्योगी व्यवसायीहरुले सेयर बजारलाई आफ्ना कम्पनी चल्न छाडेपछि वा बन्द हुने अवस्थामा पुगेपछि त्यसबाट राम्रो मुनाफा कमाएर बाहिरिने बाटो बनाएका छन् । जसको मारमा भने भविष्यमा सर्वसाधारण लगानीकर्ता पर्ने निश्चित छ ।
सरकारले आर्थिक वर्ष २०७०/७१ को बजेटमार्फत रियल रेक्टरलाई कम्पनीलाई सेयर बजारमा ल्याउने भन्दै बजेटबाटै प्रोत्साहनसहितको बाध्यकारी व्यवस्था गरेको थियो । तर, कम्पनी नाफामा संचालन हुँदा कुनैपनि लगानीकर्ताले आफ्ना कम्पनीको आइपीओ निष्काशन गर्न चाहेनन् । अहिले कम्पनी घाटामा गएर बन्द हुने अवस्थामा पुगेपछि भने तिनै लगानीकर्ता आइपीओमा लगेर आफ्ना सेयर बिक्री गर्दै बाहिरिन थालेका छन् ।
कम्पनी घाटामा गएपछि विभिन्न निकायलाई मिलाएर नक्कली ब्यालेन्ससिट तयार पारेर गतवर्ष मात्रै प्रिमियम मूल्यमा आईपीओ जारी गरेको सोनापुर सिमेन्ट र घोराही सिमेन्ट अहिले चरम घाटामा रहेका छन् । यदि उनीहरुले आईपीओ जारी नगरेको भए अहिले कम्पनी नै बन्द अवस्थामा हुने थियो भन्दापनि हुन्छ । अहिले घोराही सिमेन्टको ऋण १० अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने सोनापुर सिमेन्टको ७ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । उच्च नाफा देखाएर प्रिमियममा आईपीओ जारी गरेको उक्त कम्पनीमध्ये आर्थिक वर्ष २०८०/८१ को सोनापुर सिमेन्ट उद्योग ४७ करोड रुपैयाँ घाटामा छ भने घोराही सिमेन्ट १ अर्ब २१ करोड रूपैयाँ घाटामा रहेको वित्तीय विवरणले देखाएको छ । जसमध्ये घोराहीले गत वर्ष ३ अर्बको व्यापार गरेको थियो भने सोनापुरको व्यापार नै छैन भन्दापनि हुन्छ ।
बुक बिल्डिङ विधिबाट सर्वसाधारणमा सेयर जारी गरेको सर्वोत्तम सिमेन्टको पनि व्यापारमा पनि उल्लेखनीय गिरावट आएको छ । आव २०७७/७८ मा करिब ९ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको सर्वोत्तमको आव २०८०/८१ मा आइपुग्दा व्यापार घटेर ६ अर्ब ३७ करोड रुपैयाँमा सीमित हुन पुगेको छ । यस्तै भर्खरमै मात्रै आइपीओमा जान लागेको शुभश्री अग्नी सिमेन्टको ऋण ४ अर्ब ५५ करोड रुपैयाँ छ भने सो कम्पनीको गतवर्ष व्यापारमा उल्लेखनीय गिरावट आएको देखिन्छ । पछिल्लो समय सिमेन्ट तथा रड उद्योगहरु घाटामा गएर बन्द हुने अवस्थामा पुगेपछि आइपीओ जारी गर्दै सर्वसाधारणलाई सेयर भिडाएर बाहिरिने मनस्थितिमा पुगेको देखिन्छ ।
यसैगरी लामो समयसम्म कर्मचारीलाई तलब नदिएर समस्यामा रहेको नागरिक मिडियाले पनि आइपीओ जारी गरेरै अहिलेसम्म आफुलाई बजारमा टिकाइरहेको छ । सामान्यतया कमपनीहरुले १० देखि १५ प्रतिशत हिस्सा आइपीओ जारी गर्ने गरेकोमा आफु ठूलो घाटामा रहेका कारण नागरिक मिडियाले कर्मचारी र सर्वसाधारलाई गरी सुरुमै करिव ५० प्रतिशत सेयर आइपीओमार्फत बजारमा ल्याएको थियो ।
अहिले जलविद्युत कम्पनीहरुको पनि अवस्था त्यस्तै छ । केही समयअघि धितोपत्र बोर्डले गरेको एक अध्ययन अनुसार धेरैजसो कम्पनीले लकइन खुलेपछि संस्थापकहरुले सेयर बिक्री गरेर बाहिरिएको तथ्य सार्वजनिक गरेको थियो । पछिल्लो समय जलविद्युत प्रर्वद्धकहरुले बैंक र सर्वसाधरणको पैसा लगानी गरेर जलविद्युत आयोजना निर्माण गर्ने र लकइन पिरियड खुलेपछि बोनस र हकप्रदको फण्डा निकालेर आफुसँग भएको सेयर बिक्री गरेर बाहिरिने गरेको तथ्य सार्वजनिक गरेको थियो ।
यसैगरी अहिले सबैजसो पुराना पाँचतारे होटलहरुले आइपीओ जारी गरिसकेका छन् । यसैगरी सुरुमा अपार्टमेन्ट बनाएर बिक्री नभएपछि होटलमा परिणत गरेको सिटी होटलले पनि आफुलाई बढ्दो घाटा र ऋणबाट मुक्ति दिलाउन सर्वसाधारणमा आईपीओ जारी गरेको थियो भने नयाँ बन्दै गरेका होटलहरु पनि आईपीओ जारी गर्ने चरणमा छन् । कतिपय पाँचतारे होटलहरुले त संचालनमा नआउँदै आईपीओमा जाने घोषणा गरिसकेका छन् ।
समग्रमा भन्नुपर्दा अहिले रियल सेक्टरका प्रायःजसो उद्योग व्यवसाय घाटामा छन् भने कतिपय संचालन नै गर्न नसकेर बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् । देशमा सिमेन्ट र रड उद्योगहरु धेरै संचालनमा आउँदा माग खुम्चिन गई न्यून क्षमतामा संचालनमा छन् भने कतिपय सिमेन्ट उद्योग बन्द नै भइसकेको अवस्था छ।
अहिले जतिपनि ठूला उद्योगी चलेका छन् ती प्रायः पुँजी बजारसँग जोडिएका छन् भने धेरैजसो आईपीओमा जाने चरणमा रहेका छन् । ‘अहिले पुँजी बजारसँग नजोडिएका उद्योग व्यवसाय संचालनमा कठिनाई देखिएको छ,’ एक लगानीकर्ताले भने, ‘अहिले धेरैजसो डुब्न लागेका उद्योग व्यवसायलाई पुँजी बजारले टेको दिएको छ भन्दा हुन्छ ।’ त्यस्तै डाबर नेपाल, युनिलिभर, कोकाकोलाजस्ता मल्टिनेसनल कम्पनीहरु पनि सेयर बजारकै कारण बढी चर्चामा रहेका छन् ।
अहिले आइपीओप्रति नेपाली लगानीकर्ताको आकर्षण रहेको र उद्योगी व्यवसायीले त्यसलाई अवसरको रुपमा परिणत गर्दै सेयर बिक्री गर्दै आएका छन् । ‘अहिलेको प्रावधानअनुसार जलविद्युत तथा रियल सेक्टको आईपीओ जारी गरेको ३ वर्ष पछि सबै सेयर लकईन (बिक्री गर्न मिल्ने हुन्छ) खुल्छ । सोही अनुरुप घाटामा रहेका र चल्न नसक्ने अवस्थामा पुगेका कम्पनीहरुका लगानीकर्ताले आफु बाहिरिनका लागि धमाधम आइपीओ जारी प्रक्रिया अघि बढाईरहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।