काठमाडौं । अमेरिकी डलरको बढ्दो उचाई, सुनको मूल्यमा आउने गिरावट र तेल उत्पादनमा आएको परिवर्तनले पछिल्लो समयमा विश्व अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय उम्मेदवारी घोषणा गरेदेखि नै अमेरिकी डलरको मूल्यमा उल्लेखनीय वृद्धि हुँदै आएको छ ।
अझ चुनावी मैदानमा होमिएर जीन निकालिसकेपछि यसले झन तिव्रता पायो । जसका कारण विदेशी मुद्राहरू, जस्तै नेपाली रुपैयाँ लगायतका अन्य मुद्रा, अमेरिकी डलरको तुलनामा कमजोर हुँदै गएका छन् । यस आर्थिक परिदृश्यको विस्तृत अध्ययन गर्दा अमेरिकी डलरको वृद्धि, सुन र पेट्रोलियमको मूल्यमा आएको गिरावट एकसाथ जटिल विश्वव्यापी आर्थिक घटकहरूको प्रतिफल हो ।
ट्रम्पको अघिल्लो राष्ट्रपति कार्यकालमा कर कटौती, ब्याजदर वृद्धिको नीति र नियमनमा गरिएको परिवर्तनले अमेरिकी अर्थतन्त्रलाई सक्रिय बनाएको थियो । अमेरिकी केन्द्रीय बैंकले ब्याजदरलाई बढाएर मुद्रास्फीतिमा नियन्त्रण गर्न खोज्दा विश्वभरका लगानीकर्ताहरू अमेरिकी बजारतर्फ आकर्षित भएका थिए । यस्तै असर यसपल्ट पनि देखियो अघिल्लो पटकजस्तै फेडले यसपल्ट पनि ब्याजदर बढाउने अनुमान लगानीकर्ताहरुले गरिरहेका छन् । यहि अनुमानका बीच अमेरिकी डलरको मागमा वृद्धि भएपछि यसको मूल्य लगातार बढ्दै गयो । यस्तो अवस्थामा अमेरिकी डलरलाई सुरक्षित मुद्राको रूपमा लिने विश्वव्यापी लगानीकर्ताहरूले आफ्नो पूँजीलाई अमेरिकी बजारमा स्थानान्तरण गर्न थाले, जसले अन्य देशहरूको मुद्रामा थप दबाब उत्पन्न गरायो ।
नेपाली रुपैयाँलगायत अन्य मुद्राहरूमा यसले नकारात्मक असर पारेको छ । अमेरिकी डलरको लगातार वृद्धि हुँदा विदेशी मुद्राहरू कमजोर हुन थालेका छन् । अमेरिकी बजारमा आएको पूँजीको ओहिरोले अन्य देशका मुद्राहरूलाई डलरसँग प्रतिस्पर्धा गर्न कठिन बनाइदियो । साथै, नेपालजस्ता आयातमा निर्भर मुलुकहरूको लागि आयात लागतमा पनि वृद्धि हुँदै गयो, जसले देशको भुक्तानी सन्तुलनलाई प्रभावित पार्ने निश्चित छ । आयातमा लागत बढेपछि मूल्यवृद्धि हुने सम्भावना पनि रहन्छ, जसले आम उपभोक्ताहरूलाई महँगीको मारमा पर्न बाध्य गराउँछ ।
सुनको मूल्यमा आएको गिरावटको पनि आफ्नै प्रभाव देखिन्छ । विश्व बजारमा सुनको मूल्य घट्नु भनेको लगानीकर्ताहरूको डलरमा बढेको विश्वाससँग जोडिएको छ । अमेरिकी डलर बलियो हुँदा अन्य मुद्रामा सुनको माग घट्दछ, किनकि डलरमा खरिद गर्न महँगो पर्न जान्छ । नेपालमा सुनको मुख्य प्रयोग गहना र लगानीको रूपमा हुन्छ । मूल्य घट्दा उपभोक्ताहरूलाई यसको प्रत्यक्ष लाभ मिल्न सक्छ । तथापि, सुनको मूल्य गिरावटले विश्वव्यापी आर्थिक अस्थिरताको संकेत पनि दिन सक्छ, जसले नेपालजस्ता साना अर्थतन्त्रलाई दीर्घकालमा चुनौती दिन सक्ने अर्थशास्त्रीहरु बताउँछन् ।
अझ विश्वभर पछिल्लो समय देखिएको घटनाक्रमहरु पुनः दोहोरिने सम्भावना रहेका कारण सुनको मूल्य हाल केहि घटेपनि कालान्तरमा उकालो लाग्ने क्रम जारी रहने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । चीन अमेरिकाबीचको व्यापारयुद्ध, केन्द्रिय बैंकले थुपार्न थालेको सुनको परिमाण र अन्य विश्व परिवेशमा देखिएका चुनौतिहरुले यसमा प्रत्यक्ष प्रभाव पार्ने उनी बताउँछन् ।
तेल तथा पेट्रोलियम उत्पादनको मूल्यमा आएको गिरावटको अर्थ धेरै मुलुकका लागि फाइदाजनक हो । विश्व बजारमा पेट्रोलियम उत्पादनको मूल्य घट्दा नेपालजस्ता तेल आयातमा निर्भर मुलुकहरूलाई केही राहत मिल्न सक्छ । नेपाली बजारमा तेलको मूल्य घट्न सक्ने सम्भावना हुन्छ, जसले ढुवानी तथा उद्योग क्षेत्रको लागत घटाउन मद्दत गर्न सक्छ । तर, अमेरिकी डलर बलियो हुँदा अन्य मुद्राको खरिद क्षमता कमजोर हुन्छ, जसका कारण तेलको मागमा पनि कमी आउँछ । त्यसैले, तेलको मूल्यमा देखिएको गिरावटको मुख्य कारण भनेको अमेरिकी डलरको बढ्दो मूल्य र विश्व अर्थतन्त्रको सुस्त वृद्धि हो ।
अझ पछिल्लो समय चीन, अमेरिकालगायतका विकसित देशहरुले ग्रिन टेक्नोलोजीलाई प्राथमिकता दिने नीति अघि सारिसकेका छन् । यस्ता नीतिले तेलको खपत घटाउने र कालान्तरमा तेलको मूल्यमा केहि अmभै गिरावट आउनसक्न सम्भावना देखिएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । उनका अनुसार नेपाल तत्काल ग्रिन टेक्नोलोजीतर्फ शतप्रतिशत जान सक्ने अवस्था नभएकाले यसको प्रत्यक्ष फाईदा नेपाललगायत ग्रिन टेक्नोलोजीमा सिफ्ट भईनसकेका राष्ट्रहरुलाई हुनेछ ।
पछिल्ला भूराजनीतिक अवस्थाहरूले विश्व अर्थतन्त्रमा अस्थिरता ल्याएका छन् । यसअघि अमेरिका र चीनबीचको व्यापार विवादले विश्व बजारमा अन्योल उत्पन्न गरेको थियो, जसको असर अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको थियो । यस्ता व्यापार विवादहरू र भूराजनीतिक तनावका कारण विश्वभरका लगानीकर्ताहरूले सुरक्षित मुद्राको खोजी गर्न थाले, जसले अमेरिकी डलरको मागमा वृद्धि गरायो । नेपालजस्ता साना र खुला अर्थतन्त्र भएका मुलुकहरूका लागि यस्तो अवस्थामा अर्थतन्त्रलाई सन्तुलनमा राख्न चुनौतीपूर्ण साबित हुन सक्छ ।
अर्थशास्त्रीहरूका अनुसार नेपालको लागि यो स्थिति चुनौतीपूर्ण भए पनि यसमा केही अवसर पनि रहेका छन् । आयातको लागत बढेपनि अन्तर्राष्ट्रिय बजारमा सुन र तेलको मूल्य घट्दा नेपालको व्यापार घाटामा केही राहत मिल्न सक्छ । तर, यो अवस्था लामो समयसम्म रहिरह्यो भने नेपालले वैकल्पिक नीति अपनाउनुपर्ने आवश्यकता देखिएको छ । आयातमा निर्भरता घटाउनका लागि स्वदेशी उत्पादनमा जोड दिनुपर्ने तथा विदेशी मुद्रासँग प्रतिस्पर्धा गर्नका लागि घरेलु उद्योग र निर्यातलाई प्रोत्साहन गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।
नेपालको लागि यो परिदृश्य महत्त्वपूर्ण अवसर र चुनौतीको रूपमा रहेको छ । अमेरिकी डलरको मजबुती, सुन र तेलको मूल्यमा आएको गिरावटले नेपाललाई दीर्घकालमा कसरी प्रभावित पार्छ भन्ने कुरा नेपाल सरकारका आर्थिक नीति र योजनाहरूमा निर्भर रहन्छ । आयातमा निर्भर मुलुकका रूपमा, नेपालले यस अवस्थालाई आर्थिक सुधारको अवसरका रूपमा लिन सक्ने सम्भावना छ । यद्यपी नेपाल र चीनबीचको बषौंदेखिको बीआरआई सम्झौता हालसम्म पनि कार्यान्वयनमा नआएकाले अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै इन्डो प्यासिफिक मातहतका परियोजनाहरुमा पनि सम्भावना देखिएको अर्थविदहरु बताउँछन् ।