काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको निर्णय पालना गर्दै लाइन काटिएका सबै उद्योगको लाइन जोडेको बताएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारको निर्णय पालना गर्नु आफ्नो कर्तव्य भएको र सोहीअनुसार सबै उद्योगको लाइन जोडेको बताए ।
उनले भने–‘सरकारको निर्णय पालना गर्नु हाम्रो कर्तव्य हो, सोहीअनुसार हामीले सबै उद्योगको लाइन जोडेका छौं । हामीले यसअघि ३ पटकसम्म लाइन काटेका थियौ, सरकारको निर्देशन अनुसार नै जोडेका थियौ । यसपटक पनि सरकारकै निर्देशनअनुसार १५ दिनभित्र बक्यौता उठाउने गरी लाइन जोडेका हौं । अब हामी १५ दिनभित्र बक्यौता उठाउन लागिपर्ने छौं, उद्योगीहरुले पनि तिर्नुहुन्छ भन्ने आशा छ ।
घिसिङले १५ दिनभित्र बक्यौता नबुझाए पुनः लाइन काट्ने चेतावनी पनि दिए । उनले भने–‘यसको जिम्मेवारी ऊर्जा मन्त्रालय र सरकारले जिम्मेवारी लिनुपर्ने छ । अब यो प्राधिकरणको मात्रै विषय होइन नागरिक र सरकारको पनि ध्यानाकर्षण हुने विषय हो, अबको १५ दिनमा बक्यौता नउठे आम सर्वसाधारणले समेत घच्घच्याउने बेला आएको छ ।’ उनले प्राधिकरण औद्योगिक वातावरण सहजीकरण गर्न लागिपरेको पनि दाबी गरे ।
घिसिङले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादबारे आफ्नो असहमतिका बाबजुत पनि सरकारको निर्देशनपछि प्राधिकरणले काटिएका उद्योगका लाइन जोड्नुपरेपछि आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।