Logo

किन ‘डाउनट्रेण्ड’मा देखियो सुनको मूल्य, अहिले लगानी गर्नु कति उचित ?

किन ‘डाउनट्रेण्ड’मा देखियो सुनको मूल्य, अहिले लगानी गर्नु कति उचित ?



काठमाडौं । कार्तिक १५ गते नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य त्यसयता लगातार ओरालो लागिरहेको छ । त्यसपश्चातको १३ दिन अर्थात आजसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटिसकेको छ । अघिल्लो वर्ष मात्रै प्रतितोला ८० हजारको आसपासमा कारोबार भइरहेको सुनको मूल्य त्यसपछि लगातार नयाँ रेकर्ड कायम गर्ने दौडमा छ । चालु आवमा पनि सुनको मूल्यमा उच्च उत्तारचढाव आइसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघ बताउँछ ।

पछिल्लो २ हप्तादेखि विश्वबजारमै सुनको मूल्य ओरालो लागेसँगै नेपालमा पनि मूल्य लगातार घटिरहेको हो । नेपाली बजारकै कुरा गर्दा यसअघि कार्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँ रहेको सुनको मूल्य आजका दिनसम्म घटेर प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा सीमित भएको छ । यसबीचमा एकदिनबाहेक अन्य दिन सुनको मूल्य घटिरहेको देख्न सकिन्छ ।

आगामी दिनमा भने यसको मूल्य घट्ने या बढ्ने भन्नेबारे अहिले आँकलन गर्न नसकिने विज्ञहरुले बताउँदै आएका छन् । खासगरी अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य लगातार घट्दै गएको छ । बलियो हुँदै गएको अमेरिकी डलर, अमेरिकी आर्थिक सूचकाङ्क र फेडरल रिजर्भका अधिकारीहरूको वक्तव्यका कारण हाल विश्वबजारमै सुनको मूल्य ओरालो लागिरहेको छ । साथै हालै निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयले पनि सुनको मूल्यमा निरन्तर दबाब सिर्जना गरेको अर्थशास्त्रीहरु बताउँछन् ।

विश्लेषकहरूको भनाईलाई आधार मान्दा ट्रम्पको पुनरागमनसँगै बजारमा महँगी बढ्न सक्ने सम्भावना देखिएको छ । महंगी बढेको अवस्थामा ब्याजदरको घटबढमा प्रभाव पर्छ । साथै, सम्भावित उच्च ट्यारिफ तथा अमेरिकी नीति परिवर्तनले बजारमा ब्याजदर उच्च रहने संभावना बढेको छ । यसै कारणले पछिल्लो पाँच महिनामा सुनले सबैभन्दा खराब हप्ताको सामना गरिरहेको थियो ।

यस्तै चिनियाँ केन्द्रीय बैंकले गत महिनादेखि आगामी छ महिनासम्म सुन खरिद रोक्ने निर्णय गरेका कारण पनि सुनको मूल्यमा गिरावट आएको बताइएको छ । अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको जितसँगै विश्व बजारमा अस्थिरता बढेको छ, जसले लगानीकर्ताहरूलाई आफ्नो सुन र चाँदीको स्टक बिक्री गर्न प्रेरित गरिरहेको छ ।

विश्लेषकहरु हाल सुनको मूल्यमा गिरावट देखिएपनि आगामी दिनमा सुनको मूल्यले उकालो यात्रा नै तय गर्ने बताउँदै आएका छन् ।
विश्वबजारमा आज सुन प्रतिऔंस २ हजार ६ सय ५ अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ । यो नोभेम्बर एकको तुलनामा करिव १ सय ८४ डलरले कम हो । अर्थात अन्तरराष्ट्रिय बजारमा पछिल्लो २ हप्तामै सुनको मूल्यमा उच्च गिरावट आएकै कारण नेपाली बजारमा पनि यसको मूल्य लगातार संकुचन भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । ‘पछिल्लो समय देखिएको सुनको मूल्यमा गिरावटलाई अमेरिकी राष्ट्रपतिको चुनावले असर गरेको हो,’ उनले भने, ‘राष्ट्रपतिमा ट्रम्प आइसकेपछि विश्वका केहि क्षेत्रमा देखिएका युद्धहरु शान्त हुने अनुमानपछि डलरको मूल्य बलियो भयो र यसको दवाव सुनको मूल्यमा परेको छ ।’

यद्यपि हाल सुनको मूल्य ओरालो लागिरहेको देखिएपनि डलरको मूल्य घटाउने होडबाजी, केन्द्रिय बैंकहरुले सुन थुपार्ने प्रवृत्ति तथा सुनको आपुर्तिमा लगानी संकुचनका कारण छोटो समयमै सुनको मूल्य लगातार उचाईमा पुग्ने उनको अनुमान छ । ‘सुनको मूल्यमा देखिएको अहिलेको संकुचन क्षणिक मात्रै हो,’ उनले भने, ‘तर, सन २०२५ कै सुरुवातमा अन्तरराष्ट्रिय बजारमै सुनको मूल्य ३ हजार डलर प्रतिऔंस कट्ने निश्चित छ ।’

हाल लगानीकर्ताहरुका लागि पनि सुनमा लगानी गर्ने उचित अवसर भएकाले यहि बेलामा लगानी गरेर कालान्तरमा फाइदा लिन सकिने उनको भनाई छ । उनका अनुसार पछिल्लो समय रेकर्ड हाईको गति समातेको सुनको मूल्यले केहि बिश्राम लिएपनि पुनः नयाँ उचाई लिनेमा कुनै शंकै छैन ।

प्रतिक्रिया दिनुहोस्