काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेर आज काठमाडौँ ल्याइँदै छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरि अहिले अपराह्न २ः३० बजेको समयमा अधिकारीलाई काठमाडौं ल्याउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, ‘नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको थियो, अहिले काठमाडौँ ल्याइँदै छ ।’
यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएका प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको आरोप छ । यसैबीच जिल्ला प्रहरी कार्यालयले पनि पक्राउ पुष्टि गरेको छ ।
यसैगरी अधिकारीलाई नेकपा (एमाले) कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।रासस