Logo

अमेरिकामा ट्रम्पको पुनरोदय र डलरको उच्च मूल्य : नेपाली अर्थतन्त्रमा कस्तो पर्छ प्रभाव ?

अमेरिकामा ट्रम्पको पुनरोदय र डलरको उच्च मूल्य : नेपाली अर्थतन्त्रमा कस्तो पर्छ प्रभाव ?



काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प पुनः विजयी बनेसँगै अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । बिहीबार अमेरिकी डलरको भाउ नेपालमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार नेपालमा अमेरिकी डलरको खरिद दर १३४.५४ रुपैयाँ र बिक्री दर १३५.१६ रुपैयाँ पुगेको छ, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो । ट्रम्पको राजनीतिक र आर्थिक नीतिहरूले विगतमा डलरको मूल्यमा व्यापक उतार–चढाव ल्याएको र अहिले पनि ट्रम्पको जीतसँगै डलरको मूल्य स्थिरता कायम गर्न चुनौतीको विषय बनेको देखिन्छ ।

ट्रम्पको आर्थिक नीति र डलरको प्रभाव

डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति र उनको आर्थिक दृष्टिकोणले अमेरिकामा घरेलु उत्पादनलाई प्राथमिकता दिएको छ । उनले लगानीकर्ताहरुलाई आकर्षित गर्न तथा अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउन कर कटौती तथा व्यापार नीतिहरू ल्याएका थिए । अमेरिकी अर्थतन्त्रमा वृद्धिपछि विदेशी लगानीकर्ताहरूले अमेरिकी बजारप्रति आकर्षण देखाउँछन्, जसले डलरको माग बढाउँछ र यसको मूल्यमा समेत वृद्धि गराउँछ । यसको असर हाल नेपाली बजारमा पनि देखिएको छ, जहाँ डलरको उच्च मूल्यले नेपाली अर्थतन्त्रमा विभिन्न चुनौतीहरू सिर्जना गरेको छ ।

आर्थिक नीतिहरू : यसअघि अघिल्लो कार्यकालमा ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति कर कटौती, न्यूनतम नियमन, र घरेलु उत्पादनलाई प्रोत्साहन गर्नेमा केन्द्रित थियो । सन् २०१७ को कर कटौती र जागिर ऐनले संस्थानको कर दर घटाएपछि व्यापार क्षेत्रको विश्वास र लगानीमा वृद्धि भएको थियो। यसले अमेरिकी अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दा विदेशी लगानीलाई आकर्षित ग¥यो, जसले गर्दा डलरको माग बढेर यसको मूल्यमा सुधार देखिएको थियो ।

व्यापार नीति र करहरू : ट्रम्पको चीनसँगको व्यापार युद्ध, जसले आयातित वस्तुहरूमा कर लगाएको थियो, डलरको मूल्यमा प्रभाव पारेको थियो । यस नीतिले अमेरिकी व्यापार घाटा कम गर्न र घरेलु उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको थियो । यद्यपि, यसले छोटो अवधिका लागि डलर बलियो बनाएको भए पनि यसले विश्व बजारमा अस्थिरता ल्यायो, जसले मुद्रा सम्बन्धमा विभिन्न प्रभाव पार्न सक्थ्यो ।

फेडरल रिजर्भ को प्रभाव : ट्रम्प प्रशासनले फेडरल रिजर्भलाई ब्याज दर घटाउन दबाब दिएको थियो ताकि अर्थतन्त्रमा थप वृद्धि गर्न सकियोस् । सामान्यतया, ब्याज दर घट्दा डलरको मूल्यमा कमी आउँछ, किनकि यसले अमेरिकी डलरमा आधारित लगानीमा आकर्षण घटाउँछ । तर, फेडरल रिजर्भले आफ्नो स्वतन्त्रता कायम राख्यो र ब्याज दर घटाउने वा नघटाउने निर्णय ठूलो आर्थिक सूचकहरूलाई आधार मानेर गर्यो ।

भू–राजनीतिक तनावहरू : ट्रम्पको विदेश नीतिमा साथी राष्ट्रहरू र प्रतिद्वन्द्वीहरूसँगको तनाव पनि देखिन्थ्यो । यस्ता तनावले कहिलेकाहीँ विश्व बजारमा अस्थिरता ल्याउँथ्यो, जसले गर्दा लगानीकर्ताहरू सुरक्षित ठाउँ खोज्न थाल्थे र डलर जस्ता ‘सेफ हेभन’ मुद्राहरूको माग बढाउँथ्यो। यसले अस्थायी रूपमा डलरको मूल्य बढाउन मद्दत गर्यो ।

कोभिड–१९ महामारीको प्रभाव : ट्रम्पको कार्यकालको अन्तिमतिर कोभिड–१९ महामारीका कारण आर्थिक राहत प्याकेजहरू लागू गरियो । फेडरल रिजर्भले ब्याज दर लगभग शून्यमा झार्यो । यसले सुरुमा डलरको मूल्यमा केही गिरावट ल्यायो, तर पछि यो स्थिर रह्यो । ट्रम्प प्रशासनले अघिल्लो कार्यकालमा गरेका डलरको मूल्य बढाउने खालको नीतिहरुले निरन्तरता पाउने आशामा यसपल्ट पनि उनको जीतसँगै डलरको मूल्यले उचाई लिएको छ ।
उनको पुनः राष्ट्रपतिमा जीतले भविष्यमा पनि डलरको मूल्यमा थप उतार–चढाव आउन सक्ने आँकलन गर्न सकिन्छ । यसले गर्दा नेपाल जस्ता मुलुकले आफ्नो वैदेशिक मुद्रा सञ्चिति सुरक्षित राख्न र दीर्घकालीन रणनीतिहरू तयार गर्न अझै सतर्क रहनुपर्ने देखिन्छ ।

डलरको मूल्यवृद्धिको अर्थतन्त्रमा प्रभाव

अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा नेपालजस्ता विकासोन्मुख मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर पर्न थाल्छ । यद्यपि, डलरको मूल्य वृद्धिले विप्रेषण (रेमिटेन्स) आप्रवाहमा केही सकारात्मक प्रभाव पार्न सक्छ, किनकि विदेशी मुलुकमा कार्यरत नेपाली कामदारहरूले पठाएको रकमको विनिमय दर बढ्नेछ । यसले विदेशी मुद्रा सञ्चितिमा केही सकारात्मक प्रभाव पार्न सक्छ । तर, अन्य क्षेत्रमा भने यसले विभिन्न समस्या ल्याउने देखिएको छ । पहिलो, नेपाल सरकारलाई विभिन्न विदेशी परामर्शदाता, ठूला अन्तर्राष्ट्रिय परियोजनाहरू, र दातृ संस्थाहरूसँग गर्ने कारोबारमा बढी रकम भुक्तानी गर्नुपर्नेछ । यस्तै, मुलुकले विदेशी ऋणको सावा तथा ब्याज तिर्नुपर्ने रकम बढ्नेछ, जसले राज्यको आर्थिक भारलाई थप बढाउनेछ ।

विप्रेषण र डलरको सम्बन्ध

अमेरिकामा लगानीको आकर्षण बढ्दा डलर बलियो हुँदा नेपालीहरुले पठाएको रेमिटेन्सबाट प्रत्यक्ष लाभ भए पनि यसले गर्दा नेपालमा दैनिक उपभोग्य सामानको मूल्य वृद्धि हुने खतरा रहन्छ । भारतसँगको मुद्रा दर स्थिर भएपनि अन्तर्राष्ट्रिय व्यापारको दृष्टिकोणले डलरमा गरिएको कारोबारको मूल्य बढ्दा आयात वस्तुहरूको मूल्यमा वृद्धि हुने सम्भावना रहने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

नेपालको आयात र व्यापारघाटामा प्रभाव

नेपालले अधिकांश उपभोग्य वस्तुहरू र कच्चा पदार्थहरू आयात गर्छ, जसका लागि डलरको भुक्तानी गर्नुपर्छ । अमेरिकी डलरको मूल्यमा भएको वृद्धिले नेपाललाई अझ महँगो हुनेछ, जसले गर्दा उपभोक्ताहरूले थप मूल्य चुकाउनुपर्ने हुन्छ । आयातित वस्तुको लागत बढ्दा महँगीको दरमा पनि वृद्धि हुने सम्भावना रहेको छ, जसले गर्दा साधारण जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पर्नेछ ।

यस्तो बेलामा नेपाल सरकारलाई डलरको मूल्य वृद्धिको सामना गर्न थप रणनीति अपनाउनु पर्ने देखिन्छ । यस अवस्थामा वैदेशिक ऋण र भुक्तानीहरूको व्यवस्थापनमा दक्षता आवश्यक देखिएको छ । साथै, अर्थ मन्त्रालयले यस्तो अवस्थालाई ध्यानमा राखेर विप्रेषण आप्रवाह बढाउनुपर्ने र वैकल्पिक विदेशी मुद्रा आम्दानीका स्रोतहरू खोज्नुपर्ने हुन्छ। यस्तै, डलरको मूल्य स्थिर राख्नका लागि विदेशी मुद्रा सञ्चिति बढाउने उपायहरू पनि अवलम्बन गर्नुपर्ने देखिन्छ । अमेरिकी डलरको मूल्य बृद्धिले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष असर पारिरहेको वर्तमान परिदृश्यमा डोनाल्ड ट्रम्पको नीतिहरू र अमेरिकी अर्थतन्त्रको स्थिरता अत्यन्त महत्त्वपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्